बांके-असोज १२ गते
सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मुलपानीमा आज बिहान साढे तीन बजे बाँके ढकेरीबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी जिप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहरा, शोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको ज्यान गएको मृतक सबैको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान खलंगामा ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिए ।
दुर्घटनामा परी एक जना घाइते भएका छन् । घाइते कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षीय तिलक ओली रहेका छन् । घाइते ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा ९ जना सवार रहेको र जिप अनियन्त्रित भइ सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते वलीका अनुसार चालक निदाएकाले दुर्घटना भएको लिमरा खबर लाई बताए। उनले भने ‘गाडीमा हामी सबै निदाएका थियौं। सायद चालक पनि निदाए पछि गाडी दुर्घटना भयो। प्रहरीले पनि चालक निदाएका कारण गाडी दुर्घटनमा परेको हुनसक्ने अनुमान गरेको छ।
वलीले भने बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा दुर्घटनामा परेको बताए। सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले चालकको समेत मृत्यु भइसकेकोले दुर्घटना के कारणले भयो भन्ने एकिन साथ भन्न कठिन भइरहेको बताए।