नेपालगंज-आश्विन ११,गते ।
सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् ।
कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयको चापका कारण मंगलबारसम्ममा सहमति गर्ने गृहकार्य भइरहेको बताए । ‘अब समय धेरै छैन, पार्टीभित्र उम्मेदवार चयनका लागि समेत समय चाहिने भएकाले गठबन्धनबीच मंगलबारसम्ममा सहमति जुटाउने गरी पहल भइरहेको छ,’ उनले भने, ‘अहिले प्रदेशसभाका ३ सय ३० क्षेत्रमा सहमतिनजिक पुगिरहेका छौं । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८० देखि ८५ क्षेत्रसम्म छुट्याउने समझदारी भएको छ । बैठकमा भने कांग्रेसले ९० सिटको अडान राखेको थियो । कांग्रेसलाई ९० सिट दिन गठबन्धनका अन्य दल तयार नभएपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ८४-८५ सिटमा झर्ने संकेत दिएका छन् ।
कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) बीच समझदारी बनाउने छुट्टै गृहकार्यसमेत जारी छ । तीन दलबीचमा सिट बाँडफाँटका लागि करिब सहमति जुटिसकेको माओवादीका एक नेताले बताए । संघ र प्रदेश दुवैतर्फ सबै सिटमा समझदारी बनेपछि एकैचोटि सार्वजनिक गर्छौं ।’
माओवादी र एकीकृत समाजवादीबीच धेरै निर्वाचन क्षेत्रमा दाबी देखिएका छन् । माओवादीले करिब ४५ देखि ४७ सिटसम्म पाउने निश्चित छ । तीमध्ये दुई दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा सहमति बनिसकेको छ । संख्यामा माओवादी, नेकपा (एस) र जसपाबीच समेत करिब सहमति छ तर निर्वाचन क्षेत्रमा २५-३० स्थानमा विवाद कायम छ । मधेस प्रदेशका केही सिटमा कांग्रेस र जसपाबीच कुरा मिल्न बाँकी छ । संख्या बाँडफाँटमा भने करिब सहमति नै छ । मधेस प्रदेशमा कांग्रेसले १२, जसपाले १३, माओवादीले ५ र एकीकृत समाजवादीले २ सिट लिने गरी शीर्ष नेताहरूबीच सहमति बनेको छ । नेकपा (एस) र जसपाले १५ देखि १७ सिटसम्म पाउने भएका छन् । जसपाले मधेस प्रदेशमा १३ का अतिरिक्त सुनसरी–१ र बाँके–२ गरी १५ निर्वाचन क्षेत्र पाउने करिब निश्चित भइसकेको छ ।