नेपालगंज-असोज ९ गते।
बाँकेबाट नेपाली कांग्रेसले व्यवसायी नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कुमार कनोडिया नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, संविधानसभा सदस्य आशा विक सहितलाई प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ। कोइराला खसआर्य महिलातर्फ परेकी छिन् भने विक दलित महिला र कनोडिया मधेशी पुरुषतर्फ बन्दसूचीमा परेका छन् ।
किरण कोइराला नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशिल कोइरालाकी भाइबुहारी हुन् । क्षेत्रीय कार्यसमितिले उनको नाम प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट सिफारिस गरेको थियो।
कांग्रेसले अहिले समानुपातिक सांसद रहेकालाई फेरि नराख्ने मापदण्ड बनाएसँगै चर्चित व्यवसायी बन्द सूचीमा परेका छैनन्। निर्वाचन आयोगले असोज १६ गतेसम्म राजनीतिक दलले नाम सच्याउनसक्ने समय दिएको छ।
कांग्रेसले पाएको समानुपातिक मतको आधारमा बन्दसूचीबाट संसद बन्न पाउनेछन्। असोज १६ गतेपछि कांग्रेसको समानुपातिक सूचीले अन्तिम रुप पाउने छ।