नेपालगञ्ज-भदौ ३१ गते
दशरथ रंगशालामा भएको खेलमा साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच फाइनल भिडन्त हुने भएको हो। शुक्रबार भएको दुई खेलमा बंगलादेशले भुटानलाई र नेपालले भारतलाई पराजित गरेसँगै अब फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको हो। बंगलादेशले भुटानलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले भने भारतलाई १ गोलले जित निकालेको हो।
अब फाइनल नेपालले बंगलादेशसँग सोमबार खेल्दैछ। नेपाल र बंगलादेश फाइनलमा पुगेसँगै छैटौं संस्करणमा साफले नयाँ च्याम्पियन पाउने भएको छ। साफ च्याम्पियनसिपको इतिहासमा भारतको यो दोस्रो हार हो। यसअघि समूह चरणको खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो।
नेपाल फाइनलमा पुगेको यो पाँचौं पटक हो। विगतको इतिहासलाई हेर्दा भने नेपालले भारतलाई कडा चुनौती दिएको थियो। तर, अन्तिम समयमा भारतलाई नतिजा सुम्पिन नेपाल बाध्य भएको थियो। बंगलादेशमा आयोजना भएको पहिलो संस्करणमा नेपाल १–० को नतिजामा पराजित भएको थियो। यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। सन् २०१६ मा नेपाल भारतसँग हार्दै फाइनलमा पुग्न सकेको थिएन्। यो पटक भारतलाई हराउँदै नेपालले ऐतिहासिक जित निकालेको हो।