नेपालगञ्ज- भदौ २४ गते
नेपालगञ्ज उपमहानगरपालिकाले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान संचालन गर्ने भएको छ । डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि आज भएको सरोकारवाला बीचको बैठकमा नगर उपप्रमुख कमरुद्धिन राईले डेंगु रोग नियन्त्रणका र रोकथामका लागि नगर क्षेत्रमा लामखुट्टेको बासस्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधिमा जोड दिइएको बताए । नगर उपप्रमुख राईले डेंगु विरुद्धको अभियानमा सम्पूर्ण नगरबासी र सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताए ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले डेंगु अहिले बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधि सेवन नगर्न सुझाव दिए । डेंगु भएपनि ९९ प्रतिशत आफे निको हुने भन्दै उनले स्वास्थ्य सेचतना आवश्यक भएको बताए । भेरी अस्पतालमा डेंगु भन्दा स्क्रब टाइफस लगायतका विरामी बढी भएको उनको भनाई छ । भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाईले अस्पतालमा विरामीको चाप अधिक रहेको र शैया अभाव रहेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्द, तेज वली लगायतले लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगुबाट जोगिने भरपर्दो उपाय भएको बताउँदै रोग लाग्न नदिन सरसफाईमा विशेष दिनुपर्नेमा जोड दिए ।