कोहलपुर- भदौ २२
बाँकेको कोहलपुर नगरपालिकाले जग्गाधनी लालपूर्जा वितरण शुरु गरेको छ । कोहलपुर नगरपालिका–४ मा रहेको गोहवा र बेलनपुरमा गाउँ ब्लकका १ सय १ जनालाई लालपूर्जा वितरण गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र वडा नम्बर ४ का वडा अध्यक्ष मुबारक अलि गुजरले आज संयुक्तरुपमा १ सय १ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेका हुन् ।
जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरमा जग्गा वितरणको काम शुरु भइसकेको र केही महिनामा सबै वडामा जग्गा धनी लालपूर्जा वितरण हुने बताए । संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख आचार्यले बताए ।