नेपालगंज-१५ भाद्र
न्यायपरिषद बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो । बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो ।त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन । त्यसपछि अधिकारी कालीकोट र पछि बाँकेमा सरुवा भएका थिए ।