रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ मा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा प्रहरीले कार्यालयमा छापा मारेको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरीले कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’मा पारेको प्रमाण समेत फेला पारेको बताईएको छ । उक्त स्थानबाट प्रहरीले दुई सय १५ जना किशोर–किशोरीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूमाथि कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । प्रहरीका अनुसार जानकीनगरमा चार तलाको घरमा तीनवटा फल्याट भाडामा लिएर तीन सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।
कार्यालय सञ्चालक भारतीय नागरिकको घर तथा कोठा पनि खानतलासी हुँदैछ । अहिले मुचुल्का गर्ने काम भइरहेको र थप छानबिनका आधारमा कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।