आसन्न प्रदेश एवं संघीय निर्वाचनमा तालमेलबारे कांग्रेसभित्र औपचारिक बहस सुरु भएको छ । स्थानीय निर्वाचनमा जस्तै संघीय र प्रदेश निर्वाचनको मिति घोषणापूर्व नै तालमेललाई लिएर कांग्रेसभित्र पक्ष–विपक्षमा मत देखिएको छ । सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा तालमेल गर्दा र नगर्दाका नाफा–घाटाबारे सदस्यहरूले आ–आफ्ना धारणा राख्न सुरु गरेका छन् ।
संस्थापनइतर समूहले स्थानीय तह निर्वाचनको सूक्ष्म समीक्षा गरी आवश्यकता र औचित्य पुष्टि हुने गरी प्रदेश र संघीय निर्वाचनमा तालमेल प्रस्ताव गरेको छ । कतिपय नेताले अहिलेकै गठबन्धन नहुँदा बन्न सक्ने अर्को गठबन्धन र त्यसले निर्वाचनमा पार्ने प्रभावबारे समीक्षा गर्नुपर्ने मत राखेका छन् ।
इतर समूहका नेता डा. शेखर कोइरालाले स्थानीय निर्वाचनमा तालमेलले अन्य दललाई फाइदा भएको भन्दै आसन्न निर्वाचनमा पुनर्विचार गर्नुपर्ने प्रस्ताव गरेका छन् । ‘तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो । विगतको तालमेल र आगामी निर्वाचनबारे हामीले पार्टीभित्र सूक्ष्म ढंगले समीक्षा र मूल्यांकन गर्नैपर्छ,’ कोइरालाको प्रस्तावमा छ, ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुने गरी तालमेलबारे पार्टीको धारणा निर्माण गरौँ भन्ने मेरो विचार हो ।’
केन्द्रीय सदस्य प्रदीप पौडेलले गणितीय स्वार्थभन्दा माथि गएर एजेन्डाका आधारमा गठबन्धन गर्नुपर्ने बताए । ‘गठबन्धन नगरी आफ्नो पक्षमा मत, सिट बढाउन सकिन्छ भने त्यो उत्तम बाटो हो । तर, गठबन्धनमा नजाँदा हाम्राविरुद्ध बन्न सक्ने गठबन्धनका कारण निर्वाचन नतिजामा पर्न सक्ने नकारात्मक असरलाई ख्याल गर्न आवश्यक देखिन्छ,’ उनले भने, ‘गठबन्धन क्षणिक राजनीतिक लाभ निकाल्ने गणितीय समीकरणको आधारमा मात्र हुनुहुँदैन । गठबन्धन गर्दाको अवस्थामा निश्चित मुद्दा तथा उद्देश्य, साझा नीति तथा कार्यक्रम अनि एजेन्डाका आधारमा गरिनुपर्छ ।’
कम्युनिस्टहरूलाई एकताबद्ध बनाउन बाह्य शक्ति सक्रिय रहेको भन्दै कांग्रेस सबै विकल्पमा तयार रहनुपर्ने बताए । ‘गठबन्धनका विषयमा पार्टी नेतृत्व गम्भीर हुनुपर्छ । गठबन्धन गरेर जाने भए सबै राजनीतिक दलको सामूहिक नारा के हुन्छ ? अहिले कम्युनिस्टलाई एकताबद्ध बनाउन बाह्य शक्ति पनि सक्रिय छन् । केही मानिसको आवतजावत पनि बढिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा गठबन्धन हुन पनि सक्छ, नहुन पनि सक्छ । गठबन्धन भए कसरी जाने भन्ने विषयमा पार्टीमा व्यापक छलफल गर्नुपर्छ । अरूको बैसाखीमा टेकेर पार लाग्न सकिन्छ भन्ने सोच त्याग्नुपर्छ ।’
केन्द्रीय सदस्य डिला संग्रौलाले तालमेलका कारण कांग्रेस धेरै सिट जित्न सफल भएको र आगामी निर्वाचनमा गठबन्धन हुँदा धेरै सिट जित्ने विषयमा सोच्नुपर्ने बताइन् । ‘स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धन दलबीचको चुनावी तालमेलका कारण कांग्रेस धेरै सिट जित्न सफल भएको छ,’ उनले भनिन्, ‘आगामी चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता पर्छ । आगामी चुनावमा गठबन्धनसहित गए बढी सिट हासिल गर्ने रणनीति होला । तर, सिटको बाँडफाँड र पार्टीबाट चुनिने उम्मेदवार योग्य, सक्षम र लोकप्रियलाई टिकट दिने मापदण्ड अपनाउन आवश्यक छ । ’
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकेन्द्रित भएर छलफल अगाडि बढेको जानकारी दिए । उनले बैठकमा सरकार, पार्टी र समसामयिक विषयमा छलफल भएको जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनकेन्द्रित हुने उनको भनाइ थियो ।
‘स्थानीय निर्वाचनमा कहाँ राम्रो भयो, कहाँ कमजोरी रह्यो, गठबन्धनमा कहाँ राम्रो भयो र कहाँ समस्या आयो भन्ने आधारमा आउने दिनमा गठबन्धनलाई पनि कसरी लाने र पार्टी पनि कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुन्छ,’ उनले भने, ‘मूलतः अब आउने निर्वाचनमा केन्द्रित हुन्छौँ ।’
स्थानीय निर्वाचनको तालमेल र आसन्न निर्वाचनमा तालमेल गर्ने विषयमा कांग्रेसका प्रदेश सभापतिको मत बाझिएको छ । कतिपयले स्थानीय निर्वाचनमा तालमेल प्रभावकारी भएको बताएका छन् भने केहीले तालमेलले ठीक नगरेको धारणा राखेका छन् ।
केन्द्रीय समिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी सातै प्रदेशका सभापतिले गठबन्धनको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका थिए । उनीहरूले केन्द्रबाट निर्णय गरेर टिकट वितरण गर्दा प्रदेशलाई विधानले दिएको अधिकार खोसिएको गुनासो गरेका थिए ।
प्रवक्ता महतले संवैधानिक परिषद् विधेयकको विषयमा पनि सरकारले आवश्यकता हेरेर आवश्यक निर्णय लिने बताए । उनले विधेयकमा केही प्राविधिक विषय रहेकाले त्यसबारे निष्कर्ष निस्कने दाबी गरे । उनले परिषद्को उपसभामुख पनि छिट्टै तोक्न लागिएको बताए । बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।