नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मित्र राष्ट्र जापानका पुर्व प्रधानमन्त्री आबे हत्याको घोर भत्सर्ना गर्दै उनको निधनप्रति आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
नेपाल सरकारले आबेको हत्या अत्यन्तै निन्दनीय भएको भन्दै घोर भर्त्सना गरेको छ। आबेको हिजो शुक्रबार जापानको नारा शहरमा चुनाबी भाषण गर्दै गर्दा गोली प्रहार गरी हत्या गरिएको थियो ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति गहिरो शोक जनाएका छन् ।
प्रधानमन्त्री देउवाले ट्विट गर्दै ‘पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ देउवले ट्वीटमा लेखेका छन्, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दु:खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ ।’
सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। आबेलाई गोली प्रहार गरी गरेको हत्या निन्दनीय भएको भन्दै नेपाल सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।
गोली प्रहार गरे लगत्तै जापान प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोली प्रहार गर्ने ४१ वर्षीय पुरुषलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बीबीसीले उल्लेख गरेको छ ।
यो लिमरा खबर डटकमको आधिकारिक डिजिटल न्युज पोर्टल हो सरकार,प्रतिपक्ष र समाजका हरेक गतिविधिमाथि पनि पलपल हाम्रो दृष्टि रहिरहने छ । नभनिएका र नलेखिएका आमजनताका कथा ब्यथा केलाउने जिम्मेवारी हाम्रो हो ।किनकी हामी निरन्तर निगरानी सहित लिमरा खबरको यात्रामा छौँ ।