नेपालगञ्ज वैशाख ६ गते।
बाँकेको कोहलपुरबाट प्रकाशन हुने मिसन टुडे राष्ट्रिय दैनिकमा कार्यरत बरिष्ठ संवाददाता शुभार विश्वकर्मामाथि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सार्वजनिक पदको दुरुपयोग गर्दै दिएको अपशब्द र अपमानजनक व्यवहारप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर आपत्ति जनाएको छ।
वैशाख ५ गते शुक्रबार, नागरिकता नपाएका एक व्यक्तिको विषयमा समाचार संकलनका लागि जानकारी लिन फोन सम्पर्क गर्दा पत्रकार विश्वकर्मामाथि प्रमुख जिल्ला अधिकारी जोशीले प्रयोग गरेको आपत्तिजनक शब्दावलीले समग्र पत्रकारिता क्षेत्रको स्वाभिमानमा चोट पुगेको महासंघको ठहर छ।
घटनापछि पत्रकार विश्वकर्माले नेपाल पत्रकार महासंघ बाँके शाखामा लिखित निवेदन दिँदै आफूप्रति गरिएको दुर्व्यवहार, सुरक्षा चुनौती र अपमानका सम्बन्धमा सहयोग मागेका थिए। निवेदनमा उनले प्रजिअ जोशीसँग भएको संवादमा उनले पत्रकारलाई “दलाल” भन्ने शब्द प्रयोग गरेको उल्लेख गरेका छन्। जब पत्रकार विश्वकर्माले सो शब्द प्रयोग गर्नुको कारण सोधे, प्रजिअ जोशीले “नागरिकताको लागि फोन गर्नेलाई म दलाल नै सम्झन्छु” भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको खुलेको छ।
प्रजिअ जोशीको यस्तो अभिव्यक्तिले पत्रकारको प्रश्न गर्न पाउने अधिकार र आम नागरिकको सूचना पाउने हकमा गम्भीर कुण्ठा उत्पन्न गराएको भन्दै महासंघले घटनाको भर्त्सना गरेको छ।
घटना यतिमै सिमित रहेन. प्रमुख जिल्ला अधिकारीसँगको संवादलगत्तै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले समेत पत्रकार विश्वकर्मालाई फोन गरी सोधपुछ गर्दै डरत्रासको वातावरण सिर्जना गरेको आरोप लागेको छ। महासंघका अनुसार एसपी कार्कीको यो कदम पनि सार्वजनिक पदको दुरुपयोग र पत्रकारलाई दवाब दिने उद्देश्यले गरिएको छ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै भने, “प्रजिअ र एसपीको व्यवहार पत्रकार मात्र होइन, पत्रकारितामाथिको हमला हो। यस घटनाले स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता गर्ने वातावरणमा प्रतिकूल असर पारेको छ।”
उनले पत्रकार र मिडिया क्षेत्रप्रति प्रजिअ र एसपीको धारणा यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन्। महासंघले चेतावनी दिंदै भनेको छ, “यदि यथाशीघ्र स्पष्ट धारणा नआए थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं।”
नेपाल पत्रकार महासंघ बाँके शाखाले सम्बन्धित सबै सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै पत्रकारको व्यक्तिगत तथा पेशागत सुरक्षाका लागि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।