नेपालगञ्ज, बैशाख ५ गते।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोली र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जको संयुक्त टोलीले भारत रुपैडिहाबाट नेपाल भित्र्याइएको ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति चन्द्रनाथ नगरपालिका वडा नम्बर ५ निवासी २२ वर्षीय प्रवेश सुनार रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित पश्चिम नेपालको प्रमुख नाकाको रूपमा परिचित जमुनाहा यात्रु शाखा नजिकै नियमित चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। भारतको रूपैडियाबाट नेपालतर्फ आउँदै गरेका सुनारको शरीर तथा झोलाको चेकजाँच गर्दा करिब ३३.४०० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ।
सुनारलाई पक्राउ गरी थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब निरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भइरहेको डीएसपी पातलीले बताउनुभयो।