बाँके, चैत २९ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले हालै जारी गरेको “उत्कृष्ट प्रहरी इकाई छनौट सम्बन्धी मापदण्ड, २०८१” अनुसार, दुई प्रहरी इकाईलाई कार्य सम्पादनमा उत्कृष्ठ ठहर गर्दै ‘उत्कृष्ट प्रहरी इकाई’ घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँके अनुसार, प्रहरी चौकी बेलभारका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रेम सिंह कठायतले फागुन महिनामा उल्लेखनीय रूपमा कानुन कार्यान्वयन, जनसुरक्षा, आपराधिक नियन्त्रण तथा समुदायसँगको समन्वयमा उत्कृष्ट कार्य सम्पादन गरेको मूल्यांकन गरिएको छ। चौकीले स्थानीय समुदायसँगको सम्बन्ध सुदृढ बनाउँदै आपराधिक गतिविधिमा कमी ल्याउन सफल भएको तथा प्रहरी प्रशासनप्रति जनताको विश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उत्कृष्ट इकाई घोषित गरिएको हो।
यसैगरी, अस्थायी प्रहरी पोष्ट फत्तेपुर (ख),का इन्चार्ज प्रहरी सहायक निरीक्षक रेशम बहादुर खड्काले चैत महिनामा जनसुरक्षा, तस्करी नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न, स्थानीय निकायसँग सहकार्य गर्दै समाजमा शान्तिपूर्ण वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। पोष्टले स्थानीयस्तरमा हुने सानातिना विवादहरूको समाधानमा समेत सक्रिय भूमिका खेल्दै समुदाय प्रहरी साझेदारीको अवधारणालाई प्रभावकारी बनाएको पाइन्छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दुवै इकाईलाई मापदण्डअनुसार मूल्याङ्कन गरी “उत्कृष्ट प्रहरी इकाई” घोषणा गर्दै कदर पत्र प्रदान गरेको हो। यसबाट अन्य प्रहरी इकाईहरूलाई पनि प्रेरणा मिल्ने र कार्य सम्पादनमा अझ सशक्तता ल्याउने विश्वास लिइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, भविष्यमा पनि यस्तै मापदण्डअनुसार मासिक रूपमा विभिन्न इकाईहरूको मूल्याङ्कन गर्दै उत्कृष्ट कार्य गर्ने इकाईहरूलाई प्रोत्साहन गरिने छ। यस्तो कार्यले प्रहरी संगठनभित्र प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै आम नागरिकप्रति उत्तरदायी प्रहरी सेवा प्रवाहमा मद्दत पुग्ने विश्वास गरिएको छ।