बाँके चैत २३ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ स्थित रङ्गशालामा आयोजना हुने लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको टिसर्ट सार्वजनिक गरिएको छ। शनिवार नेपालगञ्जको सिटी पैलेस होटलमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले प्रतियोगिताको टिसर्ट सार्वजनिक गरेका हुन्। कार्यक्रममा विभिन्न क्षेत्रका पदाधिकारी तथा खेलकुदप्रेमीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै आयोजक संस्था अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले महिला फुटबलको विकासका लागि दीर्घकालीन योजना अनुसार प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले नेपाल तथा भारतका चर्चित महिला खेलाडीहरूको सहभागिता रहने भएकाले बाँके जिल्लाको प्रतिष्ठा समेत जोडिएको बताए।
प्रतियोगितामा नेपाल र भारतबाट आठ वटा टिमको सहभागिता रहनेछ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा आयोजना हुने यस प्रतियोगिता आगामी वैशाख ५ गतेदेखि नेपालगञ्जस्थित रङ्गशालामा सुरु हुनेछ। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋषि चौलागाई, नेपाल पत्रकार महासङ्घ बाँके अध्यक्ष नवीन गिरी, बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्द्र, र नेपालगञ्जकी पूर्व उपमेयर उमा थापा मगर लगायतको उपस्थिति रहेको थियो।
उक्त प्रतियोगिता सफल बनाउन सबै पक्षबाट सहयोग आवश्यक रहेको भन्दै आयोजकले अपेक्षा गरेका छन्। महिला फुटबलको माध्यमबाट जिल्लामा खेलकुदको प्रवर्द्धन गर्नुका साथै सीमावर्ती क्षेत्रबीच आपसी सम्बन्ध सुदृढ पार्ने लक्ष्य लिएको बताइएको छ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले स्थानीय पर्यटन, व्यापार तथा खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। साथै, स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर समेत मिल्नेछ।यस प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिई महिला फुटबललाई संस्थागत रूपमा अगाडि बढाउने लक्ष्य आयोजकले लिएको छ।