नेपालगञ्ज, चैत २३ गते ।
भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा नेपालगञ्जमा तेस्रो संस्करणको रात्रीकालिन क्रिकेट प्रतियोगिता ‘राजा खान नेपालगञ्ज टी–१२ क्रिकेट प्रतियोगिता’ भोलिदेखि सुरु हुने भएको छ। यस प्रतियोगिता हरेक वर्ष आयोजना गर्दै आएकोमा यस पटक पनि भव्य रुपमा प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ।
आयोजक क्लबका अनुसार प्रतियोगिता आइतबार बेलुका ८ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित विशालचोक मैदानमा भव्य रुपमा उद्घाटन गरिनेछ। यसपटकको प्रतियोगितालाई टाइटल स्पोन्सरको रुपमा समाजसेवी राजा खानले समर्थन गरेका छन्। क्लबका सचिव साहिल अन्सारीका अनुसार प्रतियोगिता सफल बनाउन समाजसेवी खानसहित अन्य साझेदारहरूको महत्वपूर्ण भूमिका रहेको बताए।
प्रतियोगिता सफल बनाउन नेपालगञ्ज उपमहानगरपालिका, एक्सपर्ट एजुकेसन, सगरमाथा ई. बोर्डिङ्ग सेकेन्डरी स्कूल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, ८ र १८ का कार्यालय, स्पोर्ट्स ग्यालेक्सी लगायतका संस्थाहरूको सहयोग प्राप्त भएको छ।
क्लबका अध्यक्ष मोहम्मद साजिद खानका अनुसार प्रतियोगितामा बाँके जिल्लाबाट जम्मा ४० वटा टिमले सहभागिता जनाउनेछन्। उनले हालसम्म करिब १० लाख रुपैयाँ संकलन भइसकेको र बाँकी ४ लाख रुपैयाँका लागि विभिन्न संघसंस्था र स्थानीय तहहरूसँग समन्वय भइरहेको जानकारी दिए।
प्रतियोगिता सञ्चालनका लागि कुल १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। रात्रीकालिन समयमा खेल हुने भएकाले प्रकाश व्यवस्थादेखि सुरक्षासम्मका विषयमा क्लबले विशेष ध्यान दिएको बताइएको छ।
सचिव अन्सारीका अनुसार प्रतियोगिता केवल खेल मात्र नभई सामाजिक सद्भाव र युवा क्षमताको उजागर गर्ने थलो पनि हो। प्रतियोगिताबाट उदाउँदा खेलाडीहरूको भविष्य उज्यालो बनाउन क्लब निरन्तर लागिपरेको उनले बताए।
प्रतियोगिताको विजेता टिमलाई आकर्षक ट्रफीका साथै नगद पुरस्कारको व्यवस्था गरिएको छ। भेरी रकर्स स्पोर्टस क्लबले यसअघि पनि विभिन्न सामाजिक र खेलकुद कार्यक्रम गर्दै आएको छ। यो प्रतियोगिता क्लबको प्रतिबद्धता र नेपालगञ्जमा खेलकुद प्रवर्द्धन गर्ने दिशातर्फ उठाइएको अर्को महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।