नेपालगञ्ज, चैत २२ गते।
पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जको जमुनाहामा ठूलो परिमाणमा अवैध रूपमा ल्याइँदै गरिएको निलो रेडबुल बरामद गरिएको छ। नेपालगञ्ज आइसिपीमा रहेको सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित गुल्मको मातहतमा रहेको जमुनाहा नाकाको यात्रु शाखामा खटिएको सशस्त्र प्रहरी असई लालबहादुर बिसीको कमाण्डमा रहेको टोलीले अवैध रेडबुल बरामद गरेको हो।
सशस्त्र प्रहरी बलका वरिष्ट हवल्दार अंक बहादुर थापा नेतृत्वको टोलीले भारतको रुपैडिहाबाट नेपाल भित्रिन लागेको बागमती प्रदेश ०१/०३०च/०४९७ नम्बरको सेतो कारलाई जाँच गर्ने क्रममा उक्त रेडबुल फेला पारेको हो। कारभित्र लुकाई छिपाई ल्याइँदै गरेको रेडबुल ठूलो परिमाणमा भेटिएपछि सशस्त्र प्रहरीले रेडबुल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी टोलीका अनुसार बरामद गरिएको निलो कलरको रेडबुल बजार मूल्य अनुसार दुई लाख भन्दा बढी मूल्यको रहेको छ। नेपाली बजारमा यसको अनुमानित मूल्य दुई लाख रुपैयाँभन्दा बढी पर्ने बताइएको छ।
बरामद गरिएको रेडबुललाई कानुनी प्रक्रिया पूरा गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वाटर बाँकेका एसपी शोभाकान्त खनालले लिमरा खबरलाई बताउनुभयो ।