अधिवक्ता मोहना अन्सारी
बाँके चैत १ गते-नेपालको राजनीतिमा मुस्लिम महिलाहरूको उपस्थिति निकै न्यून देखिन्छ। तर, नेपालको राजनीतिक इतिहासमा मुस्लिम महिलाको सन्दर्भमा एक उल्लेखनीय नाम हो मोहम्मदी सिद्दिकी (माथिको तस्वीर)। उनको राजनीतिक क्षेत्रमा उपस्थिति मुस्लिम महिलाहरूको प्रतिनिधित्वका लागि एक महत्वपूर्ण माइल का ढुङ्गा बन्यो। मोहम्मदी सिद्दिकीको जन्म १९५९ मार्च ११ मा भएको थियो। उनी आफ्ना आमा-बुवाका चौथो सन्तान थिइन्। मोहम्मदी सानै हुँदा उनका बुबाले प्राय: उनलाई भन्ने गर्थे – “प्रिय छोरी, तिमी हाम्रो जीवनमा परमेश्वरको उज्यालो बनेर आएकी हौ।”
धेरै बालबालिकाहरू झैं, मोहम्मदीको सपना पनि डाक्टर बन्ने थियो। तर, त्यो समय मुस्लिम छोरीहरूको शिक्षामा प्रोत्साहन कम थियो। यस्ता सामाजिक पूर्वाग्रहहरूका बावजुद पनि उनलाई विद्यालय पठाइयो। तर, दश कक्षा पास गरेपछि उनको पढाइ रोकियो। किशोरावस्थामा उनले “छोरीहरूलाई ठूलो भएपछि कलेज पठाउनु हुँदैन” र “छोरीहरू केटाजस्तै गतिविधिमा भाग लिन सक्दैनन्” भन्ने कुरा सुनेकी थिइन्। उनले यी पितृसत्तात्मक सोचहरूको विरोध गर्ने अठोट गरिन्। जब उनी १८ वर्षकी भइन्, उनको विवाह नेपालगञ्ज, बाँके निवासी मोहम्मद सुलेमान सिद्दिकीसँग भयो।
विवाहपश्चात् मोहम्मदी गृहिणीका रूपमा ब्यस्त भइन् र तीन सन्तानको पालनपोषणमा लागिन्। उनका श्रीमान् सुलेमान नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता थिए, जुन पार्टी पञ्चायतकालमा प्रतिबन्धित थियो। १९९० मा नेपाली कांग्रेस र नेकपा (एमाले) को नेतृत्वमा जनआन्दोलन भएको र बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएको थियो। यही बेला मोहम्मदीको जीवनमा ठूलो दु:खद घटना घट्यो—उनी ३२ वर्षकी हुँदा उनका श्रीमानको निधन भयो। त्यसपछि उनी परिवारको मुख्य कमाउने व्यक्तिका रूपमा चुनौतीहरू सामना गर्न बाध्य भइन्।
१९९७ मा नेपालले बहुदलीय प्रजातन्त्रअन्तर्गत पहिलो स्थानिय निर्वाचनको तयारी गरिरहेको थियो। यस क्रममा उनका स्वर्गीय श्रीमानका केही साथीहरूले उनलाई वडा सदस्यको उम्मेदवार बन्न प्रस्ताव गरे। सुरुमा अनौठो लागे पनि उनले स्वीकृति दिइन् र मुस्लिम समुदायले वसोवास गरेको वडामा एक मात्र महिला उम्मेदवारका रूपमा चुनाव लडिन्। उनी निर्वाचित भइन् र नेपालगञ्ज नगरपालिकाकी सदस्य बनिन्। उनले महिलाहरू तथा वञ्चित समुदायहरूको अधिकारका लागि काम गर्न थालिन्। दोस्रो चुनावमा उनलाई उपमेयरको उम्मेदवारी दिइयो, तर उनी निर्वाचित हुन सकिनन्।
२००० को आसपास माओवादी द्वन्द्व तीव्र भएकोले राजनीतिक गतिविधिहरू कमजोर भइरहेका थिए। त्यसबेला मोहम्मदीले मुस्लिम महिलाका अधिकारका लागि छुट्टै संस्था स्थापना गर्ने निधो गरिन्। संस्थागत रूपमा काम सुरु गर्नु अघि उनी नारी कल्याण समाजकी महासचिव थिइन्। २००३ मा उनले ‘फातिमा फाउन्डेसन’ स्थापना गरिन्—नेपालगञ्जको पहिलो गैरसरकारी संस्था जसले मुस्लिम महिलाहरू र पछाडि पारिएका समुदायहरूको सशक्तिकरणमा काम गर्न थाल्यो। यस संस्थाले शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण र महिला अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्यायो।
मोहम्मदीले मुस्लिम महिलाका अधिकार र मुक्ति इस्लामकै शिक्षाबाट सुनिश्चित गर्न सकिन्छ भन्ने विश्वास गर्थिन्। त्यस समय मुस्लिमहरू आधुनिक शिक्षाप्रति उदासीन छन् भन्ने धारणा थियो। त्यसलाई चुनौती दिन उनले धार्मिक अगुवाहरूलाई अधिकारको विषयमा बोल्न प्रेरित गरिन्। धार्मिक अगुवाहरू र शिक्षकहरूलाई तालिम दिन थालिन्। कुरानका सम्बन्धित आयतहरूलाई स्थानीय भाषामा अनुवाद गराएर मुस्लिम र गैर-मुस्लिम समुदायलाई सहिष्णुता र न्यायका मूल्यहरूबारे शिक्षित गराइन्। फातिमा फाउन्डेसनमार्फत सयौँ मुस्लिम युवतीहरूले कानुनी अधिकार, शिक्षा र व्यावसायिक तालिम पाउने अवसर पाए।
मोहम्मदी सिद्दिकी अशोका फेलोशिपकी प्राप्तकर्ता थिइन्। उनले आफ्नो कार्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने नेटवर्कहरू निर्माण गरिन्।
२००८ मा माओवादी द्वन्द्व अन्त्य गर्न शान्ति प्रक्रिया अघि बढ्दा, मोहम्मदी संविधानसभा (संघीय संसद) को सदस्यमा निर्वाचित भइन्। संविधान निर्माणको कार्यमा उनले विशेष गरी महिलाहरू तथा वञ्चित समुदायको अधिकार सुनिश्चित गर्न सक्रिय योगदान दिइन्। तर, राजनीतिक जटिलताका कारण पहिलो संविधानसभा चार वर्षपछि विघटन भयो। त्यसपछि पनि उनले फातिमा फाउन्डेसनमार्फत महिला अधिकार र समानताका लागि निरन्तर कार्य गरिरहिन्।
उनी २५ अप्रिल २०२१ मा निधन हुनुअघि सम्म आफ्नो जीवन समाज सेवा र न्यायका पक्षमा समर्पित गरिन्।
तर उनको जीवन सजिलो थिएन। पितृसत्तात्मक सोच भएको समाजमा उनले धार्मिक कठमुल्लाहरू र राजनीतिक प्रतिद्वन्द्वीहरूको संगठित विरोध, अपमानजनक आरोप र फतवाजस्ता चुनौतीहरूको सामना गरिन्। यद्यपि, उनले मानव अधिकार, सामाजिक न्याय र महिला सुरक्षाको पक्षमा दृढतापूर्वक उभिइरहिन्। मोहम्मदी नेपाली महिलाहरूको आन्दोलनमा एक उच्च व्यक्तित्व थिइन्।