बाँके फागुन २९ गते।
यस वर्ष हिन्दू समुदायको होली पर्व र मुस्लिम समुदायको रमजान महिनाको शुक्रबार जुमाको नमाज एकै दिन परेकाले नेपालगन्जमा सुरक्षा व्यवस्थालाई थप सशक्त बनाइएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीले बिहीबार नेपालगन्जका विभिन्न स्थानमा स्थलगत अनुगमन गर्दै धार्मिक गुरुहरू र नागरिक अगुवासँग प्रत्यक्ष संवाद गरेका छन्।
नेपालगन्जलाई धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सहरको रूपमा चिनिँदै आएको सन्दर्भमा, यस वर्ष पनि उक्त पहिचानलाई जोगाइ राख्न स्थानीय प्रशासनले विशेष सतर्कता अपनाएको छ। प्रमुख जिल्ला अधिकारी जोशीले संवेदनशील क्षेत्रहरूमा स्वयं पुगेर अवस्था बुझ्नुका साथै विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका हुन्।
उनले सबै नागरिकलाई शान्तिपूर्ण रूपमा होली मनाउन र मुस्लिम समुदायलाई नमाजको लागि मस्जिद आवतजावतमा अवरोध नपु¥याउन आग्रह गरेका छन्। “हामीले नेपालगन्जमा शान्ति र सद्भाव कायम राख्नको लागि सबै सरोकारवालासँग समन्वय गरिरहेका छौं,” प्रजिअ जोशीले भने, “धार्मिक सहिष्णुता हाम्रो पहिचान हो, त्यसलाई जोगाउनु सबैको जिम्मेवारी हो।”
सुरक्षा व्यवस्था मजबुत पार्न नेपाल प्रहरीका एक हजार सुरक्षाकर्मी र सशस्त्र प्रहरी बलका थप तीन सय सुरक्षाकर्मी नेपालगन्जका विभिन्न चोक, गल्ली र संवेदनशील स्थानहरूमा परिचालन गरिने जानकारी बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की र सशस्त्र प्रहरी ३० नं. गण बागेश्वरीका गणपति एसपी शोभाकान्त खनालले दिएका छन्।
एसपी खनालका अनुसार विशेषगरी भीडभाड हुने स्थान, धार्मिक स्थल र कार्यक्रम स्थलहरूमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहनेछ। त्यस्तै, अपरिचित व्यक्तिहरूमाथि रंग र अबिर नछ्याप्न विशेष निगरानी गरिने बताइएको छ।
स्थलगत अनुगमन टोलीमा नेपाली सेनाका राँझा ब्यारेक प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग नेपालगन्जका प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्पराज पन्त लगायतका सुरक्षानिकाय प्रमुखहरूको सहभागिता रहेको थियो।
प्रहरी निरीक्षक पन्तले मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गरेमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएका छन्। “सार्वजनिक सुरक्षालाई खलल पुग्ने कुनै पनि गतिविधि सह्य हुने छैन,” उनले भने।
प्रशासनले होली पर्व मनाउँदा मर्यादित र सुरक्षित तरिकाले सहभागिता जनाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, कुनै पनि किसिमको अफवाह वा द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहन पनि अपिल गरिएको छ।
नेपालगन्ज विगतदेखि नै धार्मिक तथा सामाजिक सद्भावको प्रतीक रहँदै आएको सहर हो। यसपटकको होली र रमजान एकसाथ परेकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको र सबै पक्षको सहकार्यमा शान्तिपूर्ण वातावरण कायम राखिने प्रशासनको भनाइ छ।