नेपालगञ्ज, फागुन २७ गते ।
जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्की आफैं सडकमा उत्रिएका छन्। पछिल्ला दिनहरूमा नेपालगञ्ज क्षेत्रमा ट्राफिक जाम, सवारी नियम उल्लङ्घन तथा आपराधिक घटनाहरूमा वृद्धि हुँदै गएको भन्दै प्रहरीले सक्रियता बढाएको हो।
एसपी कार्कीले नेपालगञ्जका मुख्य चोक र सडकखण्डहरूमा नियमित रूपमा उपस्थिति जनाइरहेका छन्। उनले ट्राफिक प्रहरीसँग समन्वय गर्दै सवारी साधनको अनुगमन गरिरहेका छन्। सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्नुका साथै अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन निर्देशनसमेत दिएका छन्।
प्रहरीका अनुसार पछिल्लो समय ट्राफिक उल्लङ्घनका घटना बढ्दै गएका छन्। विशेषगरी मदिरा सेवन गरेर सवारी चलाउने, सिग्नल उल्लङ्घन गर्ने, अव्यवस्थित पार्किङ गर्ने जस्ता कार्यले सडकमा अव्यवस्था फैलिएको जनाइएको छ। यी समस्याको समाधानका लागि अब कडाइका साथ निगरानी तथा कारबाही थालिएको प्रहरीको भनाइ छ।
धम्बोजी चौकमा व्यापार गर्दै आएका स्थानीय व्यापारी इस्लाम खान भन्छन्, “प्रहरी प्रमुख आफैं सडकमा उत्रिनु सकारात्मक संकेत हो। यसले ट्राफिक व्यवस्थापनमा मात्र नभई समग्र सुरक्षा अवस्थामै सुधार ल्याउनेछ।” उनले भने सर्वसाधारणलाई समेत प्रहरीलाई सहकार्य गर्न आग्रह गरे।
एसपी कार्कीको अगुवाइमा सञ्चालन गरिएको यस अभियानले सर्वसाधारणमा सकारात्मक सन्देश पुगेको छ। सडकमा प्रत्यक्ष रूपमा प्रहरी प्रमुखको उपस्थिति देखिएपछि नागरिकहरू पनि सजग हुन थालेका छन्। सवारी चालकहरू ट्राफिक नियममा ध्यान दिन थालेको ट्राफिक प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले यस अभियानलाई निरन्तरता दिने बताएको छ। जनताको सुरक्षाका लागि प्रहरी सधैं तत्पर रहेको एसपी कार्कीको भनाइ छ। “सुरक्षा र शान्तिका लागि प्रहरी मात्र होइन, नागरिकको पनि सहकार्य आवश्यक छ,” उनले भने।
प्रहरी कार्यालयले आगामी दिनमा अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा अझ प्रभावकारी कदम चाल्ने योजना बनाएको छ।