बाँके फागुन २७ गते ।
रमजान महिनाको अवसरमा मुस्लिम धर्मावलम्बीहरू धार्मिक भावना र कर्तव्य अनुसार सहयोग र दानमा जुटिरहेका बेला मदरसाको नाममा भइरहेको आर्थिक ठगी र दुरुपयोगको घटनाले समाजमा गम्भीर चिन्ता उत्पन्न गराएको छ।
देशका विभिन्न स्थानहरूमा आफूलाई मदरसा सञ्चालकको रूपमा चिनाउँदै केही व्यक्तिहरूले घर–घरमा गएर चन्दा संकलन गरिरहेका छन्। तर तीमध्ये केही व्यक्तिहरूको कुनै वैध संस्था नरहेको र संकलित रकम कहाँ खर्च भइरहेको छ भन्ने बारेमा कुनै प्रमाण प्रस्तुत गर्न नसक्ने देखिएको छ। यसले इमान्दार रूपमा काम गरिरहेका वास्तविक मदरसाहरूको छविमा नकारात्मक असर पार्ने खतरा बढेको छ।
लिमरा खबरको टोलीले हालै नेपालगञ्जका विभिन्न टोलमा डोर टु डोर चन्दा संकलन गरिरहेका दुई व्यक्तिको समूहलाई भेटेको थियो। उनीहरूले मदरसा सञ्चालनका लागि भन्दै रसिद देखाएर चन्दा उठाइरहेका थिए। तर रसिदमा उल्लेख गरिएका संस्था न त बाँके जिल्लामा छन्, न त भारतको उत्तर प्रदेशमा कहिल्यै देखिएका छन्। जब मिडियाकर्मीहरूले उनीहरूलाई ती मदरसा र दानको उद्देश्यबारे स्पष्ट जवाफ दिन आग्रह गरे, उनीहरू मौन भए।
यस घटनाले स्थानीयमा गम्भीर शंका उत्पन्न गराएको छ कि मदरसाको नाममा यस्ता गतिविधिहरू ठगी भइरहेका हुन सक्छन्। व्यक्तिगत भेटघाटमार्फत चन्दा माग्ने यस्ता समूहहरूको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको देखिन्छ। धर्म, भावना र विश्वासको आडमा मुस्लिम धर्मावलम्बीहरूले बिना छानबिन सहयोग गरिरहेका छन्, जसले दानको दुरुपयोग हुने सम्भावना बढाएको छ।
मुस्लिम विज्ञहरू भन्छन्, “कुनै पनि मदरसालाई सहयोग गर्नु अघि त्यसको वैधानिकता, पारदर्शिता र कार्यगत स्थिति बारे स्पष्ट जानकारी लिनु अत्यावश्यक छ।” उनीहरूले मदरसा वा धार्मिक संस्थालाई सहयोग गर्नु पूर्व सकेसम्म स्थलगत निरीक्षण वा तेस्रो पक्षबाट प्रमाणिकता सुनिश्चित गर्न सुझाव दिएका छन्।
धार्मिक संस्था तथा मदरसामा पारदर्शिता र जवाफदेहिताको खाँचो रहेको भन्दै ठगी प्रवृत्तिका समूहहरूलाई सामाजिक रूपमा चिनेर बहिष्कार गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ। यसरी मात्रै इमान्दार संस्थाहरूले आवश्यक सहयोग पाउने वातावरण बन्ने विज्ञहरू बताउँछन्। रमजानको यस पवित्र समयमा सबै मुस्लिम नागरिकहरूलाई विवेकका साथ सहयोग गर्न र जाँचबुझ गरी मात्र दान गर्न विज्ञहरूले आग्रह गरेका छन्।