दाङ, फागुन २६ गते ।
दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित बाराह कुने गेट अगाडिबाट ३० केजी चरेससहित तीन जना व्यक्ति पक्राउ परेका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चरेस ओसारपसारमा संलग्न रहेको अभियोगमा तिन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रुकुम पूर्व खवाङ जिल्लाको मुमे गाउँपालिका वडा नम्बर २१ बस्ने ६४ वर्षीय जोन पुन, ४४ वर्षीय हर्कबहादुर घर्ती र ५३ वर्षीय रूपधन घर्ती रहेका छन्। उनीहरू तीनै जनालाई प्रहरीले विशेष सूचनाका आधारमा निगरानी गर्दै आएको थियो।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीनै जनाबाट चरेस भरिएको ५६ वटा पोका बरामद गरिएको छ, जसको तौल अन्दाजी ३० किलो रहेको छ। बरामद गरिएको चरेस विशेष किसिमले प्याक गरि झोलामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरू सो लागू औषधलाई सीमावर्ती क्षेत्र हुँदै भारततर्फ लैजान खोजेको आशंका गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीका अनुसार, लागू औषध ओसारपसार विरुद्ध प्रदेशभरि व्यापक निगरानी अभियान चलाइएको छ र यही अभियान अन्तर्गत दाङमा ठूलो मात्रामा लागू औषध चरेस सहित पक्राउ भएको हो। “यो हाम्रो पछिल्लो समयको ठुलो सफलता हो,” प्रहरी नायव महानिरीक्षक कार्कीले भने, “अपराध नियन्त्रणमा यस्ता अप्रेसनले ठूलो प्रभाव पार्दछ।”
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। लागू औषध नियन्त्रण ऐनअन्तर्गत उनीहरूविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।