जानकी फागुन २५ गते ।
बाँकेको जानकी गाउँपालिकामा आर्थिक अनियमितता र अनुशासनहीन खर्च बढ्दो क्रममा रहेको भन्दै स्थानीयवासीहरू चिन्तित बनेका छन्। पछिल्लो समय सार्वजनिक खर्चमा पारदर्शिता नदेखिएको, पार्टी निकट व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सामग्री खरिद गरिएको तथा गैरकानुनी रूपमा भत्ता वितरण गरिएको भन्दै व्यापक आलोचना सुरु भएको छ।
जानकी गाउँपालिका वडा नम्बर ४ की स्थानीय बासिन्दा सन्तोषी खड्काले पालिकाभित्र जनप्रतिनिधि र कर्मचारीहरूकै मिलेमतोमा आर्थिक अनियमितता भएको आरोप लगाएकी छन्। “यहाँ सबै मिलेर खेल भइरहेको छ, सामान्य जनताको हितमा भन्दा आफ्नै स्वार्थमा काम भएको देखिन्छ,” खड्काले बताइन्।
गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा इन्धन शीर्षकमा मात्रै ३४ लाख ८७ हजार रुपैयाँ खर्च गरेको तथ्य सार्वजनिक भएसँगै जनप्रतिनिधिहरूमाथि प्रश्न उठ्न थालेको हो। कार्यालय प्रयोजनका लागि खर्च गरिएको देखिए पनि बारम्बार एउटै पार्टी निकट आपूर्तिकर्ताबाट इन्धन खरिद गरिएको पाइएको छ। यसले खरिद प्रक्रिया नै पक्षपाती र अपारदर्शी रहेको संकेत गर्छ।
त्यस्तै, कार्यालयका नियमित कामसँग सम्बन्धित नभएका बैठकहरू आयोजना गरी भत्ता वितरण गरिएको, कानुनले व्यवस्था गरेअनुसार विशेष समिति बाहेकका बैठकमा भत्ता दिन नमिल्ने प्रावधानको उल्लंघन गरिएको देखिएको छ।
साथै, विविध खर्च शीर्षकमार्फत उद्देश्य खुलाइएको छैन, न त खर्च गर्नु अघि आवश्यकताको मूल्यांकन नै गरिएको छ। यस्तो अवस्थामा सार्वजनिक स्रोतको दुरुपयोग भएको स्थानीयहरूले गुनासो गरेका छन्।
विक्रम शाही, भैयापुरका अर्का बासिन्दा, भन्छन्, “हामीले तिरेको कर जनताको सेवा होइन, पदाधिकारीहरूको सेवा र राजनीतिक लाभमा खर्च भइरहेको छ।”
यस्ता गतिविधिले जनतामाझ स्थानीय सरकारप्रति विश्वास गुम्ने खतरा देखिएको छ। सम्बन्धित निकायले तत्काल प्रभावकारी छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयको माग छ। यसबारे पालिका प्रमुखसँग सम्पर्क गर्न खोज्दा मोबाइलमा सम्पर्क हुन सकेन।