नेपालगन्ज, फागुन २४ गते।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दान बहादुर कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस वर्षभरि मनाउनुपर्ने बताएका छन्। नेपालगन्जमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले महिलाहरूको सशक्तीकरणका लागि दिवसको भावना केवल एक दिनको लागि सीमित हुनु नहुने बताएका हुन्।
११५औं अन्तर्राष्ट्रिय महिला दिवस २०८१ को अवसरमा नेपालगन्जको कृपा हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज बाँकेको सहकार्यमा आयोजित उक्त शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण, निशुल्क परामर्श, औषधि वितरण तथा अन्य आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।
शिविरको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी कार्कीले महिलाहरूको स्वास्थ्य, सुरक्षा र समृद्धि सुनिश्चित गर्न प्रहरी र समाजका सबै तहबाट पहल आवश्यक रहेको बताए। उनले भने, “महिला सशक्तीकरणको लागि एक दिनको दिवस मात्र पर्याप्त हुँदैन। हामीले वर्षैभरि उनीहरूको हक, अधिकार र अवसर सुनिश्चित गर्न पहल गर्नुपर्छ।”
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुल बहादुर कार्की, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, कृपा हस्पिटल नेपालगन्जका प्रमुख डा. प्रबिण कुमार गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रहरी निरीक्षक तथा स्थानीय भद्रभलाद्मी, मिडियाकर्मी, महिलाहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा सयौं महिलाहरूले विभिन्न स्वास्थ्य सेवाहरू प्राप्त गरेका थिए। महिलाहरूको स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह परीक्षण, महिलासम्बन्धी रोगहरूको परामर्श तथा उपचार जस्ता सेवाहरू प्रदान गरिएको थियो। कार्यक्रमका आयोजकहरूले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।