बाँके, फागुन २४ गते ।
नेपाल भारत सीमा क्षेत्र जमुनाहा लगायत विभिन्न नाकामामा अवैध तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी कडा पारेको छ। पश्चिम नेपालको प्रमुख नाका जमुनाहानाका, पूर्वका शर्मागली, निम्बुटा, बिजुलीपोल, कालाबन्जर, पश्चिमका पचपोखरा, साईगाउँ र बढैया सिमानाहरूमा सुरक्षाकर्मीहरूले गस्ती बढाएका छन्।
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शोभाकान्त खनालले आफ्नो मातहतका सबै युनिटलाई तस्करी नियन्त्रण गर्न विशेष निर्देशन दिएका छन्। नेपालगञ्ज आइसिपीमा रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्माका प्रमुखले समेत सुरक्षा सतर्कता बढाइएको बताएका छन्।
सशस्त्र प्रहरीबाँकेले जयसपुर बीओपी, कालाबन्जर बीओपी, बढैया बीओपीमा तैनाथ सुरक्षाकर्मीहरूलाई विशेष निगरानी गर्न आदेश दिएको छ। रूपैडियाबाट नेपालतर्फ अवैध रूपमा विभिन्न सामान भित्रिने गरेको सूचनाका आधारमा सुरक्षाकर्मीहरू थप सतर्क भएका छन्।
यसअघि यी नाकाहरू तस्करीका लागि खुला रूपमा प्रयोग हुने गरे पनि अहिले सशस्त्र प्रहरीले कडा निगरानी थालेपछि तस्करहरूलाई असहज भइरहेको छ। सशस्त्र प्रहरी बल बाँकेका एसपी खनालले कमाण्ड सम्हालेपछि सिमानामा मोबाइल गस्ती बढाइएको छ। मोबाइल गस्तीका कारण चर्चित तस्करहरूलाई अवैध सामान ओसारपसार गर्न कठिनाइ भएको छ।
स्थानीय गोपाल शर्माका अनुसार, तस्करहरूको गतिविधिका कारण सर्वसाधारणलाई घरायसी प्रयोजनका सामान ल्याउन समस्या भइरहेको छ। “हामीले थोरै मात्रामा सामान ल्याउँदा पनि सुरक्षाकर्मीहरूले कडाइका साथ जाँच गर्छन्, तर ठूला तस्करहरूले विभिन्न उपाय अपनाएर सामान ओसारपसार गर्ने प्रयास गरिरहेका छन्,” उनले भने।
सशस्त्र प्रहरी स्रोतका अनुसार, बाँकेको सीमामा तस्करी रोकथामका लागि थप रणनीति अपनाइँदैछ। विशेष गरी रातको समयमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई थप सतर्क बनाइएको छ।
सशस्त्र प्रहरीले स्थानीय समुदायसँग समेत सहकार्य गरिरहेको छ। स्थानीयलाई सिमानामा कुनै पनि शंकास्पद गतिविधि देखिए तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ। एसपी खनालका अनुसार, कानूनी व्यापारमा कुनै रोकतोक छैन, तर अवैध कारोबार गर्न खोज्नेहरूमाथि कडा कारबाही गरिनेछ।