बाँके फागुन १९ गते ।
लुम्बिनी प्रदेश बाँके जिल्लाको पचपोखरा क्षेत्रको नेपाल-भारत सीमामा रहेको सीमा स्तम्भ (पिलर) ढलेको अवस्थामा फेला परेको छ। जानकी गाउँपालिका वडा नम्बर १, का स्थानीय बासिन्दाका अनुसार नेपाल-भारत सीमामा पर्ने १० गजा क्षेत्रमा निर्माण गरिएको इँटा-सिमेन्टको पिलर ६५२/१६/३२/१६ नम्बर को सीमा स्तम्भ ढलेको अवस्थामा भेटिएको छ।
स्थानीय नन्कु कबडियाका अनुसार यो सीमा स्तम्भ विगत एक वर्षदेखि हेराएको अवस्थामा थियो। उनका अनुसार गाउँका किसानहरूले भैंसी चराउने क्रममा उक्त पिलर ढलेको देखेपछि स्थानीय वडा अध्यक्षलाई जानकारी गराएका थिए। सीमाक्षेत्रको संवेदनशीलताका कारण यस विषयमा सुरक्षाकर्मी र सम्बन्धित निकायलाई समयमै जानकारी गराउनु आवश्यक देखिएको छ।
सीमा स्तम्भ ढलेको घटनाबारे जानकारी पाउनासाथ सुरक्षा निकायहरू यसबारे बुझ्ने प्रक्रियामा जुटेका छन्। सशस्त्र प्रहरी बल नेपाल, केन्द्रीय हेडक्वार्टर हल्चौक काठमाडौँका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार बाँके जिल्लाका सम्बन्धित सुरक्षा निकायलाई अनुसन्धान गर्न निर्देशन दिनेछौं। उनले भने, “यो नेपाल-भारत दुवै देशको विषय भएकाले सम्बन्धित निकायहरूलाई जानकारी गराएर आवश्यक प्रक्रिया अघि बढाइनेछ।”
त्यसैगरी, नापी कार्यालय बाँकेका प्रमुख गुणेश्वर यादवले पनि मिडियामार्फत पिलर ढलेको विषयमा जानकारी पाएको बताए। उनले भने, “हामीले यसबारे थप अध्ययन गरेर माथिल्लो निकायलाई जानकारी दिनेछौं। विस्तृत अध्ययनपछि मात्र पिलर ढल्नुको कारणबारे आधिकारिक निष्कर्ष निकाल्न सकिन्छ।”
जानकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहम्मद राजा राईले यो विषयमा कुनै पनि सुरक्षा निकाय वा नापी विभागले वडा कार्यालयसँग समन्वय नगरेको गुनासो गरे। उनले भने, “हामी भर्खरै घटनास्थलमा पुगेका थियौं। १७ नम्बर पिलर नजिकै भारततर्फ खाल्डोमा १६ नम्बर पिलर ढलेको अवस्थामा देख्यौँ। यसबारे उचित अध्ययन गरेर समाधान निकाल्न आवश्यक छ।”
नेपाल-भारत सीमा सन्धि सन् १८१६ को सुगौली सन्धि बाट परिभाषित गरिएको थियो। पछि विभिन्न चरणमा सीमांकन गर्दै १९४१ सम्मका जम्बो पिलर तथा अन्य सीमा स्तम्भहरू निर्माण गरिएको थियो। नेपाल-भारत सीमामा रहेका यस्ता स्तम्भहरूले दुई देशबीचको भूमि निर्धारण गर्ने महत्वपूर्ण भूमिका खेल्छन्।
सीमा स्तम्भ ढल्नुको कारण अझै स्पष्ट भएको छैन। सुरक्षाकर्मी तथा नापी विभागले यसबारे अध्ययन गरिरहेको जनाएका छन्। केही सीमा विज्ञहरूका अनुसार प्राकृतिक बर्खायामको समयमा पानीको बहावका कारण कटान मानविय हस्तक्षेपका कारण सीमा स्तम्भहरू कमजोर बन्दै गएका छन्।
स्थानीय प्रशासनले भने,ढलेका सीमा स्तम्भहरू पुन: ठड्याउने वा मर्मतसम्भार गर्ने जिम्मेवारी नेपाल-भारत दुवै देशका सम्बन्धित निकायहरूबीचको सहकार्यमा टुंगो लाग्नेछ।
यस घटनाले नेपाल-भारत सीमामा रहेका अन्य पिलरहरूको अवस्थाबारे पनि गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ। सीमा सुरक्षा बल, सशस्त्र प्रहरी र नापी कार्यालयबीच समन्वय गरेर यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ।