मंसूर अली इद्रिशी
बाँके फागुन १७ गते-इस्लाम धर्मावलम्बीहरूको लागि विशेष महत्व राख्ने पवित्र महिना रमजान अइतबारदेखि सुरु भएको छ। सहादत मस्जिद ईदगाह कर्बला व्यवस्थापन समिति, परसपुरका सचिव इसराईल शेखका अनुसार अइतबारदेखि रमजानको व्रत (रोजा) बस्ने सुरु भएको हो।
रमजान महिनामा इस्लाम धर्मावलम्बीहरू ३० दिनसम्म निराहार (रोजा) बस्दै इबादत गर्छन्। यो अवधिमा उनीहरू बिहान सूर्योदय हुनुअघि ‘सहरी’ खान्छन् र दिनभर पानीसमेत नपिई अल्लाहको प्रार्थना, इबादत तथा आत्मसंयममा ध्यान केन्द्रित गर्छन्। साँझ सूर्यास्तपछि ‘इफ्तार’ गरेर मात्रै उनीहरू खानपान गर्छन्। यस महिनामा इस्लाम धर्मावलम्बीहरूले आफ्ना पापहरूको क्षमाका लागि अल्लाहसँग प्रार्थना गर्ने तथा मन, वचन र कर्म शुद्ध राख्न विशेष ध्यान दिने गर्छन्।
यस वर्ष नेपालमा इस्लाम धर्मावलम्बीहरूले लगभग १४ घण्टासम्म निराहार रोजा बस्नुपर्नेछ। बिहान सूर्योदय हुनुअघि सहरी खाएपछि उनीहरूले दिनभरि केही पनि खानपान गर्न पाउँदैनन्। साँझ सूर्यास्तपछि मात्रै इफ्तार गरी व्रत खोल्ने परम्परा छ।
छिमेकी मित्र राष्ट्र भारतका विभिन्न सहरमा रमजान महिनाको चन्द्रमा देखिएपछि नेपालमा पनि फागुन १७ गते रातिदेखि तराबीह नमाज सुरु गरिएको थियो। फागुन १८ गतेदेखि इस्लाम धर्मावलम्बीहरूले रोजा बस्न थालेका छन्।
रमजान महिनामा इस्लाम धर्मावलम्बीहरू मस्जिदमा गई विशेष इबादत गर्ने गर्छन्। यसैक्रममा, सहादत मस्जिदका इमाम कारी वा हाफिज वसीम साहबले पनि इस्लाम धर्मावलम्बीहरूलाई मस्जिदमा गई प्रार्थना गर्न आग्रह गरेका छन्।
रमजान महिनालाई धार्मिक रूपमा मात्र नभई सामाजिक सेवा गर्ने अवसरको रूपमा पनि लिने गरिन्छ। गरिब, असहाय तथा जरुरतमन्द व्यक्तिहरूलाई सहायता गर्ने परम्परा अनुरूप यस महिनामा ‘जकात’ अर्थात् आफ्नो वार्षिक आयको २.५% गरिब तथा असहाय व्यक्तिहरूलाई दान गर्नुपर्ने धार्मिक मान्यता रहेको छ।
यस महिनामा गरिब परिवारलाई खाना, कपडा तथा आर्थिक सहयोग गर्ने चलन छ। यसले समाजमा भाइचारा र परोपकारको भावना बढाउने विश्वास गरिन्छ।
रमजान इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना मानिन्छ। यही महिनामा मुस्लिम धर्मग्रन्थ कुरआन अवतरण भएको विश्वास गरिन्छ। यस अवसरमा इस्लाम धर्मावलम्बीहरूले आत्मसंयम, दानशीलता, तथा आध्यात्मिक ध्यानमा जोड दिन्छन्।
रमजान महिनाको अन्त्यमा इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाड इद उल-फित्र मनाइन्छ, जसलाई प्रेम, सौहार्दता र दानशीलताको पर्व मानिन्छ। रमजानको पवित्र महिनामा गरिएका इबादत तथा सेवाका कारण व्यक्ति आध्यात्मिक रूपमा शुद्ध हुने विश्वास गरिन्छ।