बाँके फागुन १७ गते ।
जानकी गाउँपालिका वडा नम्बर ५, गुरुवागाउँमा निर्माण गरिएको शमशानघाटको गेट र तारबार एक वर्ष नपुग्दै भत्किएपछि पुनःनिर्माण गरिएको छ। स्थानीयवासीले निर्माणको गुणस्तर कमजोर भएको भन्दै गुनासो गरेपछि ठेकेदार कम्पनी सूर्य उदय कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालीले गेटको पुनःनिर्माण गरेको हो।
स्थानीय खेमराज यादवका अनुसार शमशानघाटको गेट र तारबार केही समयमै भत्किएको देखेपछि उनले वडाध्यक्ष टिकानाथ यादवलाई जानकारी गराएका थिए। त्यसपछि वडाध्यक्ष यादवले ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दिएका थिए। स्थानीय स्रोतका अनुसार वडाध्यक्षको दबाबपछि ठेकेदार कम्पनीले गेटको पुनःनिर्माण गरेको हो।
जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा गुरुवागाउँ शमशानघाट निर्माणका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त निर्माण कार्य सूर्य उदय कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालीले जिम्मा लिएको थियो। कम्पनीका सञ्चालक करण बर्माका अनुसार २०८० माघ १८ गते चार लाख ८२ हजार ४६ रुपैयाँ ९३ पैसामा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० फागुन १८ गतेभित्र निर्माण कार्य सम्पन्न गरिएको थियो।तर निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै गेट भत्किएपछि स्थानीयले निर्माण प्रक्रियामाथि प्रश्न उठाएका छन्। स्थानीय भरत राम यादवका अनुसार पाँच लाख रुपैयाँको बजेटमा शमशानघाट चारैतिर इँटाको पर्खाल बनाउनुपर्नेमा शिमेंट पिलर मात्र बनाएर तारबार गरिएको छ। उनले यो काम ३५% कमिसनका लागि गरिएको आरोप लगाएका छन्।
यस विषयमा पालिका प्रमुख छब्बन खां लाई प्रतिक्रिया लिनका लागि लिमरा खबरले उनको अफिसियल नम्बर ९८४८०३०११३ मा पटकपटक सम्पर्क गर्दा उहाँको मोबाइल फोन मा सम्पर्क हुन सकेन।स्थानीय बासीका अनुसार हामीहरूले स्थानीय पालिकालाई कर तिरिरहेका छौं तिरिएका करबाट स्थानीय सरकारले विकासको नाममा विनाशको काम गरिरहेको आरोप लगाएका छन्।
निर्माण कम्पनीका सञ्चालक करण बर्माले भने आफूहरूले इन्जिनियरले तयार पारेको इस्टिमेट अनुसार नै काम गरेको बताए। “इन्जिनियरको इस्टिमेटमा गेटका लागि पिलर उल्लेख थिएन, तर हामीले थप सुरक्षाका लागि इँटाको पिलर खडा गरेर गेट निर्माण गरेका थियौं,” उनले भने। बर्माका अनुसार पिलर कमजोर भएकै कारण गेट भत्किएको हो।
उनले निर्माण प्रक्रियामा इन्जिनियरको भूमिका महत्वपूर्ण हुने भएकाले इस्टिमेट तयार गर्दा ध्यान दिनुपर्ने बताए। “इन्जिनियरको कमजोरीका कारण निर्माण कम्पनीले घाटा बेहोर्नुपरेको छ,” उनले गुनासो गरे।
शमशानघाट जस्तो महत्त्वपूर्ण सामजिक संरचनाको निर्माण गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने स्थानीयको माग छ। “कमिसनका कारण कमजोर संरचना बनेर अल्पायुमै भत्कियो,” स्थानीय यादवले भने।
स्थानीयले पुनःनिर्माणपछि अब उक्त संरचना कति टिकाउ हुन्छ भन्ने चासो व्यक्त गरेका छन्। उनीहरू गुणस्तरीय निर्माण सुनिश्चित गर्न गाउँपालिकासँग जिम्मेवारीपूर्वक अनुगमन गर्न माग गरिरहेका छन्।