नेपालगन्ज, फागुन १६ गते ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो व्यापारिक नाका मानिने नेपालगन्ज भन्सार नाकाबाट यस आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको छ। नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत पवित्रकुमार खड्काका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सात महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा ११ प्रतिशतले वृद्धि भएको हो।
गत आर्थिक वर्षको साउनदेखि माघसम्म नेपालगन्ज भन्सार कार्यालयले १६ अर्ब २७ करोड ३० लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर सो अवधिमा लक्ष्यको ६१.४९ प्रतिशत अर्थात् १० अर्ब ६२ करोड तीन हजार रुपैयाँ मात्रै सङ्कलन भएको थियो। चालु आर्थिक वर्षमा भने सात महिनाको अवधिमा १५ अर्ब १५ करोड ३१ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार रुपैयाँ सङ्कलन भइसकेको छ। यो लक्ष्यको ७२.२९ प्रतिशत हो।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार यात्रु शाखाबाट मात्रै दैनिक साढे दुई लाख रुपैयाँ राजस्व सङ्कलन भइरहेको छ। कार्यालयले सबैभन्दा धेरै राजस्व आयल निगममार्फत सङ्कलन हुने जनाएको छ। चालु आर्थिक वर्षको राजस्व सङ्कलन अवस्थालाई विश्लेषण गर्दा साउन महिनामा लक्ष्यको ७४ प्रतिशत, भदौमा ६७ प्रतिशत, असोजमा ६७ प्रतिशत, कात्तिकमा ७६ प्रतिशत, मङ्सिरमा ७६ प्रतिशत, पुसमा ७१ प्रतिशत र माघमा ७५ प्रतिशत राजस्व सङ्कलन भएको पाइएको छ।
भन्सार अधिकृत खड्काका अनुसार हरेक वर्ष राजस्व सङ्कलनको लक्ष्य वृद्धि हुँदै जाने तर सोही अनुरूप राजस्व सङ्कलन गर्न चुनौती बढ्दै जाने गरेको छ। गत आर्थिक वर्षमा नेपालगन्ज भन्सार कार्यालयले २८ अर्ब बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर, अन्ततः १८ अर्ब रुपैयाँ मात्र सङ्कलन भयो। यद्यपि, चालु आर्थिक वर्षका लागि पुनः २७ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको छ।
नेपालगन्ज भन्सार नाकाबाट राजस्व सङ्कलन हुने प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पीना, एमएस बिलेट, अलकत्रा, फलामे पत्रु, तयारी कपडा लगायतका सामग्री रहेका छन्। यस्तै, नेपालबाट जडीबुटी लगायतका वस्तुहरू भारत निर्यात हुने गरेका छन्।
राजस्व सङ्कलन वृद्धिसँगै व्यापारिक गतिविधिहरूमा सकारात्मक प्रभाव देखिएको भए पनि लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न चुनौतीहरू यथावत रहेको भन्सार अधिकारीहरूले बताएका छन्। सरकारले व्यापार नीति सुधार गरी आयात निर्यात सहज बनाएमा राजस्व सङ्कलन अझ वृद्धि हुने अपेक्षा गरिएको छ।