मंसूर अली इद्रिशी
बाँके फागुन १५ गते-नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ राष्ट्रिय महाधिवेशन यही वैशाख २० र २१ गते बाँकेको नेपालगन्जमा हुने भएको छ। महाधिवेशनको तयारीबारे जानकारी दिन नेपालगन्जस्थित सुनाखरी कटेजमा नेपाल मुस्लिम इत्तेहाद संगठन बाँके अध्यक्ष सफिक बेहनाको अध्यक्षतामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि माननीय सुर्य ढकाल, लेखा आयोगका सदस्य विजया धिताल, संगठनका इन्चार्ज तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य मो. हारुन, मदरसा बोर्ड लुम्बिनी प्रदेशका सदस्य सगीर खान, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरि, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै नेताहरूले नेपाल मुस्लिम इत्तेहाद संगठनले मुस्लिम समुदायको हकअधिकार, सामाजिक न्याय तथा राजनीतिक सशक्तीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। संगठनका नेताहरूका अनुसार महाधिवेशनमा ४२ जिल्लाबाट ६ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ। महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ भने, पार्टी महासचिव शंकर पोखरेल विशेष अतिथिको रूपमा उपस्थित हुनेछन्।
नेपाल मुस्लिम इत्तेहाद संगठन २०४८ सालमा स्थापना भएको हो। आफ्नो स्थापनाकालदेखि नै संगठनले मुस्लिम समुदायका हकअधिकार, सामाजिक तथा आर्थिक सशक्तीकरण, धार्मिक स्वतन्त्रता तथा समान अवसरका लागि संघर्ष गर्दै आएको छ। संगठनले नेकपा (एमाले) को नीति, विचार तथा सिद्धान्त मुस्लिम समुदायसम्म पुर्याउने अभियान निरन्तर जारी राखेको छ।
संगठनका नेताहरूले नेपालगन्जवासी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न संघसंस्थालाई महाधिवेशनलाई भव्य र सफल बनाउन सहयोग गर्न अपील गरेका छन्। महाधिवेशन नेपालगन्जको मेरो प्लानेटमा आयोजना गरिनेछ। महाधिवेशनमा वर्तमान राजनीतिक अवस्था, मुस्लिम समुदायको हकहित, संगठनको भावी रणनीति तथा सामाजिक तथा आर्थिक सुधारका उपायहरूबारे गहन छलफल हुने बताइएको छ। कार्यक्रममा मुलुकभरका मुस्लिम समुदायका अगुवाहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बौद्धिक वर्ग तथा सामाजिक अभियन्ताहरूको समेत सहभागिता रहने जनाइएको छ।