बाँके फागुन १३ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुरमा निर्माण सम्पन्न भएको नेपालगन्ज सिटी हल आज एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ। सहरी तथा भवन निर्माण आयोजना, बाँकेद्वारा निर्माण गरिएको यो अत्याधुनिक सिटी हलको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले सहरी पूर्वाधारको विकासले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने भन्दै नेपालगन्ज सिटी हलले आर्थिक गतिविधिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले गुणस्तरीय सहरी पूर्वाधारले व्यापार, व्यवसाय तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने उल्लेख गर्दै यस्ता संरचनाको प्रभावकारी सञ्चालन आवश्यक रहेको बताउनुभयो।
उद्घाटन समारोहमा मन्त्री सिंहले नेपालगन्ज सिटी हलको औपचारिक व्यवस्थापन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गर्नुभयो। प्रमुख विष्टले सिटी हललाई शीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै यसले नेपालगन्जको सांस्कृतिक, सामाजिक तथा व्यावसायिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने बताउनुभयो।
विशिष्ट अतिथि लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले नेपालगन्ज सिटी हल निर्माण कार्य सम्पन्न हुनुमा सबै सरोकारवालाहरूको योगदान रहेको उल्लेख गर्दै यस परियोजनालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले पूर्व शहरी विकास मन्त्री मो. इस्तियाक राईको विशेष योगदान रहेको स्मरण गर्दै सरकार र स्थानीय तहबीचको सहकार्यले नेपालगन्जलाई आधुनिक सहरका रूपमा विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
कुल २८ करोडभन्दा बढी लागतमा निर्माण भएको नेपालगन्ज सिटी हलमा ७९५ सिट क्षमताको सभाहल रहेको छ। यसका साथै, आधुनिक ध्वनि प्रणाली, वातानुकूलित सुविधा, भौतिक पहुँचयुक्त संरचना तथा अन्य अत्याधुनिक उपकरण जडान गरिएको छ। सिटी हलको शिलान्यास २०७५ सालमा तत्कालीन पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले गर्नुभएको थियो।
स्थानीय व्यापारी, समाजसेवी तथा नागरिकहरू पनि कार्यक्रममा सहभागी भएका थिए। उनीहरूले नेपालगन्ज सिटी हलले ठूला सभा, सांस्कृतिक कार्यक्रम तथा व्यवसायिक आयोजना गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। नेपालगन्जको भौतिक तथा आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको नेपालगन्ज सिटी हलको उद्घाटनसँगै स्थानीयवासी उत्साहित भएका छन्।