बाँके फागुन ११ गते।
जानकी गाउँपालिका वडा नम्बर २, बकोटिया शिक्षाको मन्दिर मानिने विद्यालयको परिषर तरकारी खेतीमा परिणत भएपछि स्थानीय अभिभावक र सर्वसाधारण आक्रोशित भएका छन्। बकोटिया गाउँमा रहेको भिर्कुटी प्राथमिक विद्यालयको परिषरमा तरकारी खेती भइरहेको दृश्य बाहिर आएपछि विद्यालय व्यवस्थापनप्रति गम्भीर प्रश्न उठ्न थालेको छ।
पालिका अध्यक्ष छब्बन खाले पटक–पटक शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन गरिएको दाबी गर्दै आएका छन्। तर, वास्तविकता हेर्दा विद्यालयको परिषर नै निजी तरकारी खेतीका लागि प्रयोग भइरहेकाले उनका दाबीमाथि स्थानीयले प्रश्न उठाएका छन्।
विद्यालय व्यवस्थापन समितिले विद्यालय परिषरलाई आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको भन्दै अभिभावकहरूले कडा आपत्ति जनाएका छन्। शिक्षाको सुधार र विद्यार्थीका लागि राम्रो वातावरण सिर्जना गर्ने कुरामा स्थानीय प्रशासनले चासो नदेखाएको भन्दै उनीहरूले गुनासो गरेका छन्।
स्थानीयहरूले विद्यालय परिषरमा खेलकुद तथा अन्य शैक्षिक गतिविधिहरू हुनु पर्नेमा यसको सट्टा तरकारी खेती भइरहेको देख्दा आफूहरू स्तब्ध भएको बताएका छन्। विद्यालय व्यवस्थापन समितिले तत्काल विद्यालय परिषरको उपयुक्त प्रयोग गर्नुपर्ने माग गर्दै स्थानीय अभिभावकहरूले आवाज उठाएका छन्।
यस विषयमा सम्बन्धित निकायले छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयवासीहरूले चर्को असन्तोष व्यक्त गरेका छन्। विद्यालयलाई पुनः शैक्षिक वातावरणमा फर्काउन र विद्यार्थीको भविष्यप्रति ध्यान दिन सम्बन्धित अधिकारीहरूलाई आग्रह गरिएको छ।