मंसूर अली इद्रिशी
बाँके फागुन १० गते-पश्चिम नेपालकै प्रमुख सीमा नाका जमुनाहा यात्रु शाखाबाट ठूलो परिमाणको अवैध भारतीय औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपालगञ्ज आइसिपी प्रस्तावित गुल्माबाट खटिएको टोलीले भारतबाट ल्याइँदै गरेको अन्दाजी करिब ४४ लाखभन्दा बढी मूल्य बराबरको औषधि बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शोभानाथ खनालको निर्देशनमा सीमा क्षेत्रमा निगरानी कडा पारिएपछि यो सफलता हात लागेको हो। तस्करहरूले सुटकेसभित्र औषधिहरू लुकाएर नेपाल भित्र्याउने प्रयास गरेका थिए। तर, सुरक्षाकर्मीहरूले चेकजाँच गर्न खोज्दा तस्करहरू सुटकेस छोडेर भागेका थिए। सुरक्षाकर्मीले सुटकेस खोली जाँच गर्दा ठूलो परिमाणमा विभिन्न प्रकारका भारतीय औषधिहरू फेला परेका थिए।
बरामद औषधिहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरी बाँकेले जनाएको छ। सुरक्षाकर्मीका अनुसार बरामद औषधिहरू नेपालमा महँगो मूल्यमा अवैध रूपमा बिक्री वितरण हुने गरेका छन्। स्वास्थ्य मन्त्रालयको अनुमति नलिई ल्याइएका यस्ता औषधिहरू स्वास्थ्य सुरक्षाका हिसाबले पनि गम्भीर चुनौती बन्ने गरेको पाइन्छ।
एसपी खनालले बाँके जिल्लामा कमाण्ड सम्हालेपछि तस्करी नियन्त्रणलाई तीव्र बनाएका छन्। उनले सीमा क्षेत्रमा निगरानी थप कडा बनाउन मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। यसअघि पनि विभिन्न अपरेशनहरू सञ्चालन गरी ठूलो परिमाणमा तस्करीका सामान बरामद गरिएका थिए।
जमुनाहा नाका तस्करीका लागि संवेदनशील क्षेत्र मानिन्छ। भारतसँग खुला सीमा भएकाले यहाँ तस्करी रोकथाम चुनौतीपूर्ण मानिन्छ। तर, सुरक्षाकर्मीको सक्रियताका कारण पछिल्लो समय तस्करीमा केही हदसम्म कमी आएको छ। एसपी खनालका अनुसार सशस्त्र प्रहरी बलले २४ सै घण्टा सीमा निगरानी गरिरहेको छ।
स्थानीयबासीका अनुसार सुरक्षाकर्मीको कडाइले अवैध गतिविधिहरूमा उल्लेख्य गिरावट आएको छ। औषधि तस्करी मात्र नभई मोबाइल, इलेक्ट्रोनिक्स सामग्री तथा अन्य अवैध रूपमा भित्र्याइने सामानहरू समेत नियन्त्रणमा लिइँदै आएको छ।
एसपी खनाल नेतृत्वको सुरक्षाटोलीको सक्रियताले बाँके जिल्लामा तस्करहरूलाई ठूलो चुनौती थपिएको छ। यसले कानुनी शासनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।