मंसूर अली इद्रिशी
बाँके फागुन ७ गते-लागु औषध नियन्त्रण गर्न विशेष अभियान थालेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ठूलो परिणाममा लागु औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयको विशेष टोली र केन्द्रिय लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त अपरेशन मार्फत भारतको बहराइच दर्जिंपुरवाका ३१ वर्षीय विशाल अहमदलाई पक्राउ गरिएको हो। अहमदको साथबाट ३५१ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका अहमदसँग करिब दुई करोडभन्दा बढी मूल्य बराबरको ब्राउनसुगर फेला परेको छ। विशेष सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो, जसको फलस्वरूप सफल अपरेशन मार्फत अहमदलाई पक्राउ गर्न सम्भव भएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र केन्द्रिय लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बुधवार दिउँसो ४:५५ बजे नेपालगन्ज उपमहानगरपालिका-२१ स्थित महाराजा स्कुल नजिक उनलाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेका अहमदको साथबाट यूपी ३२ एमएस २६१८ नम्बरको मोटरसाइकल र सात हजार पाँच सय रुपैयाँ पनि बरामद गरेको जनाएको छ।
बाँकेमा पछिल्लो समय लागु औषध ओसारपसार र प्रयोगमा वृद्धि भएको भन्दै प्रहरी प्रशासनले नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिरहेको छ। बाँके प्रहरीले दिएको जानकारीअनुसार, ‘लागु औषध नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ र यस अभियान अन्तर्गत एकै दिन ३५१ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरुबाट थप अनुसन्धान गर्दै अन्य संलग्न व्यक्ति तथा प्रयोगकर्तालाई पक्राउ गर्ने रणनीति बनाइएको छ।’
बाँके प्रहरीले अनुसन्धानका क्रममा पक्राउ परेका विशाल अहमद विगत लामो समयदेखि नेपालगन्ज क्षेत्रमा लागु औषध विक्रि र सेवन गर्दै आएको खुलासा गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार अहमद प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए। ‘उनलाई पक्रन सुराकी परिचालन गरिएको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘विशेष सूचनाका आधारमा निगरानी गर्दै जाँदा ठूलो परिमाणको लागु औषधसहित पक्राउ गर्न सफल भएका छौँ।’
प्रहरीले यस अभियानलाई अझ कडा बनाउँदै लागु औषध ओसारपसार तथा विक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिने योजना बनाएको जनाएको छ। स्थानीय प्रशासन, समुदाय तथा अन्य निकायसँग समन्वय गरेर लागु औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने प्रहरीको योजना रहेको छ।