बाँके फागुन ६ गते ।
नेपाल-भारत सीमा क्षेत्र बेलडाँडाबाट भारतीय बोइलर चल्लाको अवैध तस्करी व्यापक रूपमा भइरहेको खुलासा भएको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने सीमा क्षेत्र बेलडाँडा, छोटीपुर लाइन र वीरपुर आसपासबाट भारतीय अवैध चल्लाहरू सहजै नेपाल भित्र्याइँदै आएको पाइएको छ।
सरकारले पन्छी तथा पन्छीजन वस्तु, विशेष गरी कुखुराको चल्ला आयातमा आघोषित प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध मुख्यतः बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै लागू गरिएको हो। यो प्रतिबन्ध २०६३ साल असोज ८ गतेदेखि लागू भएको हो। तर, अवैध रूपमा भारतीय कुखुरा र चल्लाको आयात रोकिएको छैन। सीमावर्ती नाकाहरूबाट तस्करी गरी कुखुरा चल्ला भित्र्याउने क्रम जारी छ,।
स्थानीय स्रोतहरूका अनुसार भारतको रुपैडिहा नजिकै पर्ने निमविया गाउँका पप्पु मनिहार र नेपालतर्फ खजुरा-१ सैनिक बस्ने चर्चित तस्कर सुनील भन्ने बेलौतीले अवैध तस्करीमा ‘लाइन मिलाउने’ काम गरिरहेका छन्। सीमावर्ती क्षेत्र हुँदै भारतीय चल्लाहरू नेपाल भित्र्याउन यिनै व्यक्तिहरूको सेटिङमा तस्करीको सञ्चालन भइरहेको बताइन्छ।
स्थानीय व्यापारीहरूका अनुसार सीमामा खटिएका सुरक्षाकर्मीको आँखा अगाडि नै करोडौँ मूल्य बराबरको भारतीय अवैध चल्ला ओसारपसार भइरहेको छ। तर, सुरक्षा निकाय भने मौन देखिएको छ। स्थानीयले सुरक्षाकर्मी स्वयं तस्करीमा संलग्न रहेको आशंका गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण अन्तर्गत प्रस्तावित गुल्म आइसिपीका प्रमुखलाई समेत तस्करीको ‘लाइन’ मिलाइएको एक भारतीय तस्करले खुलासा गरेका छन्। स्थानीय व्यापारीहरूका अनुसार सुरक्षाकर्मीहरू तस्करहरूसँग मिलेर सेटिङ गर्ने गरेका छन्, जसकारण तस्करी सजिलै भइरहेको छ।
नेपाल भित्र्याइएका अवैध चल्लाहरू नेपालगञ्ज हुँदै दाङ, सुर्खेत, कैलाली लगायतका जिल्लामा पुर्याइने गरिन्छ। सुरक्षाकर्मीका उच्च अधिकारीहरू समेत तस्करहरूको सम्पर्कमा रहेको बताइन्छ।
सैनिक क्षेत्रका स्थानीय व्यापारीहरूका अनुसार सुनील भन्ने बेलौतीले भारतबाट अवैध कुखुराको चल्ला मात्र नभई अन्य सामग्रीहरूको पनि ओसारपसार गराउने गर्छन्। उनले आफूले सशस्त्र प्रहरीदेखि नेपाल प्रहरीसम्म सेटिङ मिलाएको खुलेआम बताउने गरेका छन्।
सैनिकमा बस्ने सुनील भन्ने बेलौती तस्करले भारतीय चल्ला ओसारपोसार गर्नका लागि बार्गनिङ गरेको तथ्य लिमरा खबर सँग सुरक्षित रहेको छ। तस्कर सुनील भन्ने बेलौतीले भनेका छन्, पर चल्लाबाट आठ रुपैयाँको दरले हामी लिन्छौं भनेको ठाउँमा हामी पुर्याउने जिम्मेवारी सहित तस्कर सुनील भन्ने बेलौतीले दाबी गर्नुभएको छ। त्यति मात्र कहाँ हो र तस्करले ५० हजार एडभान्स माग गरेको पनि कुरा बाहिरिएको छ।
खजुरा गाउँपालिकाका वडा नंबर १ मा रहेको सरकारी विद्यालयका १ जना शिक्षक तस्करीको मिलेमतोमा संलग्न रहेको आरोप लागेको छ। स्रोतका अनुसार, खजुरा गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित प्रगति ह्याचरी एन्ड पोल्ट्री फार्ममार्फत भारतीय अवैध बोइलर चल्लाको बिल काटेर नेपालका विभिन्न स्थानमा पठाइने गरेको भारतीय तस्करहरूले बताएका छन्।
तर, प्रगति ह्याचरी एन्ड पोल्ट्री फार्मका सञ्चालक योगेश रावलले भने आफूले आफ्नो फार्ममा उत्पादन भएको चल्ला मात्र नेपालका विभिन्न जिल्लामा पठाउने गरेको रावलले दाबी गरेका छन्।”विगतमा मलाई भारतीय अवैध चल्लाको बिल काटिदिनका लागि चर्चित तस्करहरूले अफर गरेका थिए, तर मैले अस्वीकार गरेको छु। यदि मलाई यस्तो गैरकानुनी कार्यको जानकारी मिलेमा म स्वयं सुरक्षाकर्मीलाई खबर गर्छु,” उनले भने।
नेपालमा चल्ला उत्पादन गर्ने थुप्रै फार्महरू रहेका छन्। तर, भारतीय अवैध चल्ला सस्तो मूल्यमा भित्रिँदा स्वदेशी उत्पादन प्रभावित भएको व्यवसायीहरू बताउँछन्। “हामीले कानुनी रूपमा व्यवसाय गर्दा कर तथा अन्य शुल्क तिर्नुपर्छ, तर तस्करहरू गैरकानुनी रूपमा सस्तोमा सामान बिक्री गरी हाम्रो बजार बर्बाद गरिरहेका छन्,” खजुराका एक पोल्ट्री व्यवसायीले बताए।
सरकारले अवैध तस्करी रोक्न कडा कदम नचाले पोल्ट्री व्यवसाय धरासायी हुने मात्र होइन, देशको अर्थतन्त्रमै गम्भीर असर पर्ने चेतावनी व्यवसायीहरूले दिएका छन्। सीमामा कडा निगरानी, सुरक्षाकर्मीहरूमा जिम्मेवारीबोध, र राजस्व चुहावट रोक्न विशेष अभियान सञ्चालन गर्नुपर्ने माग स्थानीय व्यवसायीहरू गरिरहेका छन्।