मणिपुर भारत फागुन ४ गते ।
महाकुम्भ मेलामा माला-मनके बेच्दै गर्दा चर्चित बनेकी मोनालिसा अहिले बलिउडमा प्रवेश गर्न लागेकी छिन्। चर्चित निर्देशक सनोस मिश्राले उनलाई आफ्नो नयाँ फिल्म ‘द डायरी अफ मणिपुर’ को मुख्य भूमिकाका लागि साइन गरेका छन्। अहिले निर्देशक मिश्रा उनलाई अभिनयको प्रशिक्षण दिइरहेका छन्।
केही दिन अघि महाकुम्भ मेलामा मोनालिसाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। जहाँ उनी माला-मनका बेच्दै देखिएकी थिइन्। यही भिडियो हेरेर निर्देशक सनोज मिश्राले उनलाई फिल्ममा अवसर दिने निर्णय गरे। मोनालिसालाई अभिनयमा दक्ष बनाउन हालै निर्देशकले उनलाई ‘क, ख, ग’ सिकाउँदै गरेको अर्को भिडियो पनि भाइरल भएको थियो।
यस्तै, मोनालिसाको अर्को नयाँ भिडियो बाहिरिएको छ, जसमा उनी पहिलो पटक हवाई यात्रामा देखिएकी छन्। उनले आज इन्दौरबाट बेंगलुरुसम्मको पहिलो फ्लाइट यात्रा निर्देशक सनोज मिश्रासँगै गरिन्। यो मात्रै होइन, उनले पहिलो पटक साततारे होटलमा बास बस्ने र डिनर गर्ने अनुभव पनि लिन लागेकी छिन्।
मोनालिसा अहिले एउटा ठूला ज्वेलरी ब्रान्डको ब्रान्ड एम्बेसडर बनेकी छिन्। भोलि उनी केरला राज्यमा आयोजना हुने ज्वेलरी फेयरमा विशेष अतिथि रहनेछिन्। एक झुपडीबाट बलिउडसम्मको यात्रा तय गरेकी मोनालिसाको चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक भइरहेको छ।
सनोज मिश्रा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘द डायरी अफ मणिपुर’ को छायांकन चाँडै नै सुरू हुनेछ। निर्देशक सनोज मिश्रा यस फिल्मका लेखक, निर्माता तथा निर्देशक हुन्। यसका सह-निर्माताहरूमा संजय भूषण पटियाला, यामिन खान, जावेद देवरियावाला रहेका छन्।
यो फिल्ममार्फत राजकुमार रावका दाजु अमित रावले बलिउडमा डेब्यु गर्दैछन्। फिल्मको प्रचारकको रूपमा संजय भूषण पटियाला रहेका छन्।
सधैंभरि सामान्य जीवन बिताएकी मोनालिसाले बलिउडमा पाइला चाल्दा दर्शक र मिडियाको ध्यान आकर्षित गरिरहेकी छिन्। सानो झुपडीबाट बलिउडसम्मको यात्रा तय गर्न उनी सफल भएकी छिन्। निर्देशक सनोज मिश्राले भने, “हामी मोनालिसालाई एउटा राम्रो अभिनेत्री बनाउन चाहन्छौं। उनीमा धेरै सम्भावना छन्।”
अब फिल्म ‘द डायरी अफ मणिपुर’ ले मोनालिसाको करिअरलाई कस्तो मोड दिन्छ भन्ने हेर्न बाँकी छ।