नेपालगञ्ज, फागुन १ गते ।
सशस्त्र प्रहरी बलको संरक्षणमा भित्रिएको अवैध भारतीय बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१४, नयाँ बस्ती क्षेत्रबाट अन्दाजी १५० केजी बराबरको अवैध बोइलर कुखुरा बरामद गरेको हो। बरामद गरिएको कुखुराको अनुमानित बजार मूल्य ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली तथा इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीको नेतृत्वमा रहेको संयुक्त टोलीले उक्त कुखुरा नियन्त्रणमा लिएको हो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोली देखेपछि तस्करहरू कुखुरा छोडेर भारततर्फ भागेका थिए।
सीमावर्ती क्षेत्रहरूमा भारतीय कुखुराको तस्करी व्यापक रूपमा हुने गरेको पाइन्छ। सशस्त्र प्रहरी बलको मिलेमतोमा दैनिक रूपमा कुखुरा भित्रिरहेको स्थानीय स्रोतहरू बताउँछन्। यसअघि पनि पटक–पटक सीमाक्षेत्रबाट अवैध रूपमा भित्रिएको भारतीय कुखुरा प्रहरीले नियन्त्रणमा लिइएको थियो।
नेपालमा भारतीय कुखुराको आयातमा प्रतिबन्ध लगाइए पनि तस्करीको माध्यमबाट ठूलो परिमाणमा कुखुरा भित्रिरहँदा स्थानीय व्यवसायीहरू मारमा परेका छन्। अवैध रूपमा भित्रिने कुखुराका कारण नेपाली पोल्ट्री व्यवसाय धराशायी हुन थालेको भन्दै व्यवसायीहरूले सरकारी निकायहरूलाई कडाइ गर्न माग गर्दै आएका छन्।
प्रहरीले बरामद गरेको कुखुरा नेपालगञ्ज क्वारेन्टाइन पठाइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तूलबहादुर कार्कीले अवैध रूपमा भित्रिने भारतीय कुखुराले स्वास्थ्य जोखिम समेत बढाउने भएकाले तस्करी नियन्त्रणमा थप कडाइ गरिने जानकारी दिएका छन्।
“अवैध रूपमा भित्रने कुखुरा स्वास्थ्यका हिसाबले पनि जोखिमपूर्ण हुन सक्छ। तस्करी रोक्न हामी सधैं सशक्त रूपमा लागिरहेका छौं,” एसपी कार्कीले भने।