बाँके, फागुन १ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनामा सम्पादित प्रमुख कार्य प्रगतिको विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहिवार पत्रकार सम्मेलन कार्यक्रमको आयोजनागरी एसपी तुलबहादुर कार्कीले माघ महिनाको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरण अनुसार विभिन्न आपराधिक गतिविधि नियन्त्रण, ट्राफिक व्यवस्थापन, लागू औषध नियन्त्रण, हराएका सम्पत्ति फिर्ता, ठगी कारबाही, महिला तथा बालबालिकासम्बन्धी अपराध नियन्त्रण तथा अन्य सुरक्षाका क्षेत्रमा प्रहरीले उल्लेखनीय सफलता हात पारेको छ।
भन्सार छलीका सामान बरामद र ट्राफिक कारबाही
बाँके प्रहरीले भन्सार छली गरिएका विभिन्न सामान बरामद गर्दै सम्बन्धित निकायमा हस्तान्तरण गरेको छ। माघ महिनामा मात्र प्रहरीले रु १४ लाख ४३ हजार १९६ मूल्य बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ।
ट्राफिक व्यवस्थापनतर्फ, ट्राफिक नियम उल्लङ्घन गर्ने ३,२९७ सवारी साधनलाई कारबाही गर्दै रु २५ लाख ४५ हजार राजस्व सङ्कलन गरिएको छ। साथै, अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न नौ वटा ट्याक्टर नियन्त्रणमा लिइएर सम्बन्धित निकायमा पठाइएको छ। ती ट्याक्टरलाई प्रति ट्याक्टर रु ५,००० जरिवाना गराइएको छ।
अपराध अनुसन्धान र कानुनी कारबाही
बाँके प्रहरीले अपराध अनुसन्धानतर्फ पनि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। माघ महिनामा मात्र १४६ वटा नयाँ मुद्दा दर्ता भएका छन्, जसमा १३५ जना अपराधी पक्राउ परेका छन्। यसैगरी, ५८ वटा पेन्डिङ मुद्दा फर्छ्योट गरिएका छन्। फरार सूचीमा रहेका ६१ जना अपराधी पक्राउ परेका छन्। पक्राउ परेका अपराधीहरूमध्येबाट जम्मा २५ वर्ष ९ महिना २१ दिन कैद सजाय तथा रु २०,०६७२७ रुपैयाँ जरिवाना असुल गरिएको छ।
साथै, प्रहरी कार्यालयमा ठाडो उजुरी ३९४ वटा दर्ता भएका थिए, जसमध्ये ३८७ उजुरी फर्छ्योट भएका छन् भने बाँकी सातवटा उजुरी फर्छ्योट प्रक्रियामा छन्।
लागू औषध नियन्त्रण अभियान
बाँके प्रहरीले लागू औषध ओसारपसार तथा विक्री वितरण नियन्त्रण गर्न व्यापक अभियान सञ्चालन गरेको छ। माघ महिनामा मात्र प्रहरीले ५४ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १९० ट्याबलेटसहित ३४ जना लागू औषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ।
हराएका सम्पत्ति फिर्ता
बाँके प्रहरीले हराएका सम्पत्ति खोजी तथा फिर्ता गर्ने अभियान अन्तर्गत माघ महिनामा छवटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। त्यसैगरी, हराएका नौथान आइफोन तथा अन्य मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको छ।
ठगी र जालसाजीसम्बन्धी कारबाही
बाँके प्रहरीले ठगी तथा जालसाजीसम्बन्धी कारबाहीमा समेत प्रभावकारी भूमिका खेलेको छ। नक्कली जग्गा धनी प्रमाणपत्र बनाएर बैंकमा धितो राखी रकम ठगी गर्ने गिरोहका तीन सदस्यलाई पक्राउ गरिएको छ।
त्यस्तै, विवाहको क्रममा युवकको हत्या गर्ने आरोपमा छ जना पक्राउ परेका छन्। इरसाद कबडियालाई खुकुरी प्रहार गरी हत्या गर्ने दुईजनालाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको छ।
वैदेशिक रोजगारीका नाममा जापान पठाइदिन्छु भन्दै रु १ करोड २३ लाख ठगी गर्ने व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ। साथै, सवारी दुर्घटना गराई फरार भएका व्यक्तिहरूलाई समेत पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
महिला तथा बालबालिकासम्बन्धी अपराध नियन्त्रण
बाँके प्रहरीले महिला तथा बालबालिकासम्बन्धी अपराध नियन्त्रणमा पनि उल्लेखनीय सफलता हात पारेको छ। माघ महिनामा १० वटा मुद्दा दर्ता भएका छन्, जसमा ९ जनालाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको छ।
यस अवधिमा घरेलु हिंसासम्बन्धी ४० वटा उजुरी प्राप्त भएका छन्, जसमध्ये ३३ वटा फर्छ्योट भएका छन् भने बाँकी अनुसन्धान प्रक्रियामा छन्। सामाजिक हिंसासम्बन्धी २२ वटा उजुरी परेका थिए, जसमध्ये २१ वटा मिलापत्र गरिएको छ भने बाँकी प्रक्रियामा छन्।
हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सम्बन्धमा ५५ वटा निवेदन प्राप्त भएका थिए, जसमा केही फेला पारिएका छन् भने केहीको खोजी कार्य जारी छ। यसैगरी, सीमा नाकाबाट १९६ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई उद्धार गरिएको छ। अलपत्र अवस्थामा रहेका ५६ जनालाई उद्धार गरी १५ जनालाई संरक्षणका लागि संस्थामा पठाइएको छ।
समुदाय प्रहरी साझेदारी गतिविधि
समुदाय र प्रहरीको सहकार्यमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। माघ महिनामा मात्र १४४ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्, जसमा लैङ्गिक हिंसा, लागू औषध, आत्महत्या न्यूनीकरण, अल्पसंख्यक समुदायसँग प्रहरीको सम्बन्ध, नागरिक सुनुवाइ, शीतलहर सचेतना तथा समुदाय प्रहरी साझेदारी जस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको छ। ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत २२० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
आन्तरिक सुधार र प्रहरी संगठनको शुद्धिकरण
बाँके प्रहरीले आन्तरिक सुधार तथा संगठनको शुद्धिकरणमा पनि विशेष ध्यान दिएको छ। उत्कृष्ट कार्य सम्पादन गर्ने चार जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ भने आचरण विपरीत कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ।
अन्य महत्वपूर्ण गतिविधिहरू
बाँके जिल्लाको खजुरामा आयोजित फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय बाँकेको फुटबल टिमले प्रथम स्थान हासिल गरेको छ। कार्यालय तथा मातहतका प्रहरी इकाइहरूमा इलेक्ट्रोनिक हाजिर प्रणाली जडान गरिएको छ। आपतकालीन कार्यालय सुरक्षा, भीड नियन्त्रण तथा अन्य सुरक्षासम्बन्धी अभ्यासहरू गराइएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक कुलबहादुर कार्कीले प्रहरी आचरण, सेवाग्राहीसँगको व्यवहार, सामाजिक सञ्जालको प्रयोगलगायतका विषयमा प्रहरी कर्मचारीहरूलाई प्रशिक्षण दिएका छन्।
त्यसैगरी, गुनासो सम्बोधन तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ। ट्राफिक व्यवस्थापनसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ। प्रहरी कार्यालय परिसरमा बाटो मर्मत, रंगरोगन तथा लाइट जडान गरी सेवाग्राहीमैत्री वातावरण सिर्जना गरिएको छ।
बाँके प्रहरीले माघ महिनामा अपराध नियन्त्रण, कानुनी कारबाही, ट्राफिक व्यवस्थापन, लागू औषध नियन्त्रण, समुदाय प्रहरी साझेदारी, हराएका व्यक्तिहरूको खोजी तथा उद्धार लगायतका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गरेको छ। अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीले सक्रियता देखाएको छ, जसका कारण जिल्लामा कानुनी शासन प्रत्याभूत हुन सफल भएको छ।