बाँके माघ ३० गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित तांगा स्ट्यान्ड नजिकैबाट प्रहरीले ठूलो परिमाणमा अवैध भारतीय औषधि बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त अपरेशनमा २६ प्रकारका ठूलो परिमाणमा अवैध महँगा भारतीय औषधि बरामद गरिएको हो।
प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा गरिएको अपरेशनमा बिना बिल–बिजक नेपाल भित्र्याइएका औषधि बरामद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ती औषधिहरू तस्करीमार्फत ल्याइएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरी स्रोतका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको निर्देशनमा भएको अपरेशनमा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमको टोली सक्रिय रुपमा सहभागी थियो। प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा Contract Express Courier त्रिभुवन चौकको कार्यालय अगाडि सडक पेटीमा लुकाइएका औषधि फेला पारिएको हो। बरामद औषधिको बजार मूल्य करिब ३ लाख १४ हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
नेपालगञ्ज भारतसँगको प्रमुख सीमा नाका जमुनाहा नजिकै भएकाले यहाँ गैरकानुनी रूपमा औषधि ओसारपसार हुने गरेको पाइएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा भारतबाट राजस्व छलि गरी यी औषधिहरू नेपाल भित्र्याइएको अनुमान गरिएको छ।
स्थानीय बासिन्दाका अनुसार भारतबाट तस्करी गरी ल्याइएका औषधिहरू कुरियरमार्फत सुर्खेत, दाङ, दैलेख हुँदै काठमाडौंसम्म पुर्याइने गरेको तथ्य खुलेको छ। प्रहरीले गैरकानुनी रूपमा औषधि ओसारपसार गर्ने व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि अनुसन्धान अगाडि बढाएको छ।
प्रहरी निरीक्षक अरुण बमका अनुसार यस्ता अवैध गतिविधि रोक्न निगरानी अझ कडा पारिनेछ। सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै औषधि तस्करी गर्ने गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।