बाँके माघ २९ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ अन्तर्गत पर्ने जयसपुर गाउँमा रहेको श्री आधारभूत विद्यालय अहिले भौतिक पूर्वाधार विकासको चरणमा रहेको छ। विद्यालयमा थप कोठा निर्माणका साथै अन्य संरचनाहरू विस्तार भइरहेको छ। स्थानीय सरकार, विद्यालय प्रशासन र अभिभावकहरूको सहकार्यमा विद्यालयको सुधार अभियानलाई गति दिइएको छ।
विद्यालयको भौतिक विकासका लागि लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयबाट ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वडा अध्यक्ष कलिम अहमद जोलाहको विशेष पहलमा प्राप्त उक्त बजेटबाट विद्यालयका कक्षाकोठा निर्माण भइरहेको छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यसहित विद्यालयको संरचना सुधारमा जोड दिइएको छ।
विद्यालयमा हाल भौतिक पूर्वाधार निर्माण भइरहे पनि अझै केही आवश्यक संरचनाहरूको अभाव रहेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा वाल बाउन्ड्री, गेट तथा माध्यमिक तह सञ्चालनका लागि थप पूर्वाधार आवश्यक रहेको प्रधानाध्यापक साबिर बेहनाले बताए। उनका अनुसार विद्यालयमा नयाँ कोठाहरू निर्माण भइरहेकाले विद्यार्थीलाई पठनपाठन सहज हुनेछ, तर विद्यालयको पूर्ण व्यवस्थापनका लागि थप बजेट आवश्यक छ।
विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरू विद्यालयको विकास कार्यप्रति उत्साहित देखिएका छन्। विद्यालय सुधार अभियानले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारिरहेको छ। अभिभावकहरू विद्यालयमा भइरहेको भौतिक विकास कार्यमा चासो राख्दै सहयोग गर्न तत्पर देखिएका छन्।
वडा अध्यक्ष कलिम अहमद जोलाह विद्यालयका लागि विभिन्न पहल गर्दै आएका छन्। विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूले विद्यालय सुधारमा देखाएको सक्रियताका लागि वडाध्यक्ष जोलाहलाई धन्यवाद ज्ञापन गरेका छन्। विद्यालयका पूर्वाधार सुधारपछि विद्यार्थीको सिकाइ वातावरण अझ सहज हुने अपेक्षा गरिएको छ।
विद्यालय प्रशासनले आगामी दिनमा थप विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र अन्य सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी गरिरहेको छ। विद्यालयको समग्र सुधारका लागि अभिभावक, स्थानीय बासिन्दा र विद्यालय प्रशासनबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।
यसैबीच, लिमरा खबरले विद्यालयमा छड्के रिपोर्टिङ गर्ने क्रममा प्रधानाध्यापक साबिर बेहनालाई आफैं कक्षा कोठामा पठनपाठन गराइरहेको अवस्थामा भेटिएको छ। जब उनलाई सोधियो, विद्यालयमा शिक्षकको अभावले गर्दा तपाईं आफैं पढाउनुहुन्छ? उनले भने, “हामी पहिलेदेखि नै विद्यार्थीहरूलाई शिक्षा दिन रुचि राख्छौं। त्यसैले विद्यालयभित्र एक-दुई पीरियड हामी आफैं लिने गरेका छौं।”
विद्यालयको भौतिक पूर्वाधार विकासले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। हाल भइरहेको सुधारले विद्यालयको शैक्षिक गुणस्तरमा समेत सुधार आउने आशा गरिएको छ। विद्यालय प्रशासन, स्थानीय सरकार तथा अभिभावकहरूको सहकार्यमा विद्यालयलाई अझ राम्रो बनाउन थप प्रयास गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।