बाँके माघ २८ गते।
नेपालगञ्ज स्थित दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालन समितिले लामो समयपछि पूर्णता पाएको छ। यसअघि मस्जिदका अध्यक्ष फिदा हुसेन अन्सारी नेतृत्वको समितिले राजीनामा दिएपछि उक्त समिति नेतृत्वविहीन बनेको थियो।
नयाँ समिति गठन गर्न नसक्दा आठ महिनासम्म मुस्लिम समुदाय आन्दोलित हुँदै आएको थियो। वडाध्यक्ष तथा तदर्थ समितिका अध्यक्ष अयुब सिद्धिकीले निर्वाचन गराउन नसक्दा असन्तुष्टि बढ्दै गएको थियो। अन्ततः मुस्लिम समुदायको निरन्तर दबाबपछि जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठकको आयोजना गरी संस्था ऐन २०३४ अन्तर्गत १७ सदस्यीय नयाँ समिति गठन गरेको छ।
सर्वपक्षीय सहमतिमार्फत गठित समितिको अध्यक्षमा हाजी रहमान मियाँ चयन भएका छन्। त्यसैगरी, उपाध्यक्षमा रौनक अली इद्रिसी, महासचिवमा ऐनुद्दीन अन्सारी, सहसचिवमा अब्दुल अजीज काजी अन्सारी र कोषाध्यक्षमा मोहम्मद हुसेन हलवाई चयन भएका छन्।
सदस्यहरूमा: आलम खान, मोहम्मद सरिफ बागवान, अब्दुल गफ्फार खाँ (चाँद), हाजी यासीन, निजाम अली इद्रिसी, कारी सगीर खाँ, रहिस हलवाई, सुफियान सल्मानी, सहबुद्दीन हलवाई, इसहाक सिद्धिकी, सगीर खाँ, र सलाहुद्दीन हलवाई रहेका छन्।
नयाँ समिति गठनसँगै मुस्लिम समुदायको माग पूरा भएको छ। यसअघि मस्जिद व्यवस्थापनमा देखिएको अनियमितताबारे विभिन्न चरणमा छलफल हुँदै आएको थियो। नवगठित समितिले धार्मिक संस्थाको पारदर्शी सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
यस अवसरमा जिल्ला प्रशासन कार्यालय बाँकेकी प्रशासकीय अधिकृत विनिता यादवले नवगठित समितिलाई शुभकामना दिँदै, मस्जिदमा भएका अनियमितताबारे प्रशासनले आवश्यक छानबिन गरी कानूनी कारबाही गर्ने बताइन्।
नयाँ समिति गठनसँगै मुस्लिम समुदाय उत्साहित देखिएको छ। अब समितिले धार्मिक गतिविधि, आर्थिक पारदर्शिता, सामाजिक एकता र मस्जिदको समुचित विकासमा केन्द्रित हुने अपेक्षा गरिएको छ।