बाँके माघ २८ गते ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ८ पुष्पनगर बीचलाइनमा शुक्रबार साँझ ‘ग्याङ फाइट’ हुँदा खुकुरी प्रहारबाट घाइते एकजनाको मृत्यु भएको छ। स्थानीय २५ वर्षीय दिनेश रोकायाको भारतको लखनउमा उपचारका क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको हो।
स्थानीय सुवास बुढाको बिहेपछि दुलही भित्र्याउने क्रममा रमाइलो माहोल चलिरहेको बेला मदिरा सेवन गरेका युवाहरुबीच विवाद सुरु भएको थियो। प्रारम्भिक भनाइअनुसार, दुलाहाका भिनाजु रामबहादुर राना र छिमेकी युवक दिनेश रोकायाको समूहबीच भनाभन हुँदै हात हालाहाल भएको थियो। स्थिति जटिल बन्दै जाँदा रामबहादुर रानाको समूहले खुकुरी प्रहार गरेपछि दिनेश रोकाया गम्भीर घाइते भएका थिए।
घटनामा घाइते भएका अन्य पाँचजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। झडपपछि घटनास्थलमा भागदौड मच्चिएको थियो। स्थानीयका अनुसार, दिउँसोदेखि नै मदिरा सेवन गरिरहेका दुवै समूहबीच विवाद चर्किंदै गएपछि झडप भएको हो।
बाँके प्रहरीले घटनामा संलग्न भएको आरोपमा बैजनाथ–२ निवासी ३५ वर्षीय रामबहादुर रानासहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीया मनिषा राना, १८ वर्षीय भिजन नेपाली, जाजरकोट शिवालय–७ का २९ वर्षीय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका–६ की २७ वर्षीया अमृता डाँगी, तथा बैजनाथ–८ निवासी १८ वर्षीय सुजन बुढा रहेका छन्।
बाँके प्रहरी प्रवक्ता आयुस जोशीका अनुसार, पक्राउ परेका व्यक्तिहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको छ। प्रहरीले घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको छ।
स्थानीयहरूका अनुसार, बैजनाथ क्षेत्रमा पछिल्ला दिनहरूमा मदिरा सेवन र युवाबीच झडपका घटनाहरू बढ्दै गएका छन्। प्रहरीले समुदायलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।