नेपालगञ्ज माघ २७ गते।
लागू औषध नियन्त्रण तथा तस्करी नियन्त्रण अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका–२ बसपार्क बाइपास क्षेत्रमा प्रहरीले लागू औषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय नेपालगञ्ज प्रमुख प्रहरी निरीक्षक अरुण बमको कमाण्डमा खटिएको टोलीले जिल्ला सुर्खेत, गुर्भाकोट नगरपालिका–१३ गुमी निवासी २४ वर्षीय सागर घर्तीलाई लागू औषधसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार घर्ती नेपालगञ्ज–२ बसपार्क बाइपास क्षेत्रमा हिँडिरहेका बेला संकास्पद देखिएपछि उनलाई रोकी चेकजाँच गर्दा जिन्स पाइन्टको बायाँ खल्तीमा सेतो कागजभित्र लुकाइएको ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको थियो। लागू औषधको शुद्ध तौल ८ ग्राम ३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका घर्तीलाई प्रारम्भिक अनुसन्धानका क्रममा सोधपुछ गर्दा उनले उक्त ब्राउनसुगर नेपालगञ्ज उपमहानगरपालिका–१४ उदयपुर बस्ने २९ वर्षीय इन्ताज अली शेषबाट खरिद गरेको बयान दिएका छन्।उनको बयानका आधारमा प्रहरीले थप अनुसन्धान गर्दै इन्ताज अली शेषलाई समेत नियन्त्रणमा लिएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर लागू औषधसहित आवश्यक कानुनी कारबाहीको लागि अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ।
लागू औषध नियन्त्रणको अभियानलाई प्रभावकारी बनाउन प्रहरीले नियमित निगरानी र गस्तीलाई तीव्र बनाएको छ। बाँके जिल्ला लागू औषध तस्करीका लागि संवेदनशील क्षेत्र मानिन्छ, जसका कारण सुरक्षा निकायहरूले यस क्षेत्रमा विशेष सतर्कता अपनाउँदै आएका छन्।
प्रहरीले लागू औषध ओसारपसार तथा बिक्री वितरण गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने बताउँदै आम नागरिकलाई पनि सूचना प्रदान गर्न आग्रह गरेको छ। पक्राउ परेका दुबै जनामाथि लागू औषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी तुलबहादुर कार्कीले जनाएको छ।