नेपालगञ्ज माघ २६ गते।
बाँकेको नेपालगञ्जस्थित दारुल उलुम फैजुन्नबी जामा मस्जिद विवादमा नयाँ मोड आएको छ। मस्जिद व्यवस्थापनसम्बन्धी मुद्दा हाल चर्चाको विषय बनेको छ। यसै क्रममा मस्जिदका पूर्व सञ्चालक समितिका महासचिव इरफान सिद्दीकीले संघर्ष समितिले लगाएको आरोपलाई निराधार भन्दै खण्डन गरेका छन्।
पूर्व महासचिव सिद्दीकीका अनुसार उनी संघर्ष समितिमा कुनै पदमा छैनन्। उनले स्पष्ट पार्दै भने, “म संघर्ष समितिको कुनै पदाधिकारी होइन। जामा मस्जिदको पूर्व महासचिव भएकै नाताले २४ गते सम्बन्धित वडा कार्यालयमा पुगेको मात्र हुँ।”
उनका अनुसार आफूहरू पूर्व समिति पदाधिकारीहरूसहित वडा कार्यालय पुगेका थिए र त्यहाँ कुनै गलत उद्देश्य थिएन। उनले थपे, “हामी वडा अध्यक्षलाई मस्जिद व्यवस्थापनसम्बन्धी विषयमा जानकारी गराउन मात्र गएका थियौं। तर, हामीमाथि अनावश्यक आरोप लगाइएको छ।”
संघर्ष समितिले हालै मस्जिदको नयाँ व्यवस्थापन समिति गठन गर्न चुनावको माग राख्दै आन्दोलन गरिरहेको छ। उनीहरूको मुख्य माग चुनाबी प्रक्रियाबाट मस्जिद व्यवस्थापन समिति चयन गर्ने रहेको छ।
पूर्व महासचिव सिद्दीकीले भने ती मागहरूप्रति आफूहरूको समर्थन रहेको बताएका छन्। उनले भने, “हाम्रो उद्देश्य पनि मस्जिदको उचित व्यवस्थापन गर्नु नै हो। हामीले विगतमा पनि यस्ता विषय उठाएका थियौं। तर, अहिले आएर हामीलाई अनावश्यक रूपमा विवादमा तान्ने प्रयास गरिएको छ।”
संघर्ष समितिले आफ्नो आन्दोलन रोक्ने कुनै संकेत नदेखाएको र थप दबाबमूलक कदम चाल्ने बताएको छ। मस्जिद व्यवस्थापनका विषयमा स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराइसकेको छ।
बाँकेको नेपालगञ्जस्थित जामा मस्जिद पछिल्ला दिनहरूमा विवादको केन्द्रबिन्दु बनेको छ। नयाँ समिति चयन, मस्जिद व्यवस्थापन पारदर्शिता र आर्थिक हिसाबकिताब सार्वजनिक गर्ने जस्ता मागहरू उठिरहेका छन्।
यसैबीच, नेपालगञ्जका चर्चित मुस्लिम युवा गुलाम हुसेन वारसीले पनि मस्जिद विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। मिडियाकर्मीहरूसँग कुरा गर्दै उनले भने, “बाँके जिल्लामा जामा मस्जिदको विवाद ले रमजान जस्तो पवित्र महिना नजिकिँदै गर्दा यो विवादले मुस्लिम समुदायमा कुनै बाधा सिर्जना गर्नु हुँदैन। मस्जिद धार्मिक स्थल हो, यसलाई विवादरहित बनाउनु सबैको कर्तव्य हो।”
उनले सबै पक्षलाई संवाद र सहमतिबाट समाधान खोज्न आग्रह गर्दै भने, “मस्जिद विवादले मुस्लिम समुदायलाई विभाजित गर्नु हुँदैन। यसको समाधान आपसी समझदारीबाट खोजिनुपर्छ।”
जामा मस्जिद व्यवस्थापन विवाद अझै साम्य हुन सकेको छैन। संघर्ष समितिले चुनावी प्रक्रिया मार्फत समिति चयन गर्नुपर्ने माग गरिरहेको छ भने पूर्व महासचिव सिद्दीकीले ती मागप्रति समर्थन रहेको बताएका छन्। यो विषय स्थानीय प्रशासनको ध्यानाकर्षणमा रहेको छ, र विवाद समाधानका लागि संवादको आवश्यकता औंल्याइएको छ।