बाँके माघ २५ गते ।
नेपाल–भारत सीमा नजिकै रहेको इच्छारामबाबा पोष्टमार्फत सशस्त्र प्रहरीको संरक्षणमा व्यापक तस्करी भइरहेको खुलासा भएको छ। नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (ICP) अन्तर्गत पर्ने उक्त पोष्टबाट भारतको रुपैडिहा बाट अवैध रूपमा सामान भित्रिने गरेको पाइएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको विशेष टोली र सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी हवल्दार डम्बरबहादुर खत्री नेतृत्वको संयुक्त टोलीले हालै ठूलो मात्रामा जयसपुरबाट अवैध कपडा बरामद गरेको छ। तस्करीमा संलग्न समूहले सशस्त्र प्रहरीको सेटिङमा भारतबाट गैरकानुनी रूपमा कपडा ल्याउने गरेको खुलासा भएको छ।
स्थानीय व्यापारीहरू भन्सार तिरेर व्यापार गर्दा तस्करीबाट ल्याइएका सामानहरूले उनीहरूको व्यवसायलाई असर पारिरहेको गुनासो गर्दै आएका छन्। भन्सार छली गरी ल्याइएका वस्तुहरूको किनबेचले राज्यलाई ठूलो आर्थिक क्षति पुर्याइरहेको स्थानीयको भनाइ छ।
नेपाल प्रहरीको विशेष टोलीले चेकजाँच गर्दा महिलाका लागि प्रयोग गरिने कपडाहरू अवैध रूपमा ल्याइएको अवस्थामा फेला परेको थियो। प्रहरीले उक्त स्थानबाट ७१ थान लेडिज कुर्ता सुरुवाल, ७५ थान कुर्ती र ५ थान साडी गरी करिब अंदाजी १ लाख ६२ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको बाँके प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी बढ्दै गएको गुनासो बढिरहेका बेला प्रहरीले बरामद गरेको सामान ठूलो परिमाणमा रहेको बताइएको छ। यस घटनाले इच्छारामबाबा सीमाक्षेत्रमा अवैध कारोबार रोकथामका लागि थप कडाइ गर्नुपर्ने देखिन्छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीका अनुसार बरामद गरिएका कपडाहरू आवश्यक कानूनी प्रक्रिया पूरा गरी नेपालगञ्ज भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको छ। उनले सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रण गर्न आफ्नो मतहतका सुरक्षाकर्मीहरूलाई थप सतर्कता अपनाउन निर्देशन दिइएको बताए।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको निगरानीमा तस्करी बढ्दै गएको भन्दै स्थानीयले गुनासो गरेका छन्। यस घटनाले भन्सार छली गरिने अवैध व्यापार रोक्न सरकारी निकायहरूलाई थप कडाइ अपनाउनुपर्ने आवश्यकताको संकेत गरेको छ।