बाँके माघ २५ गते ।
नेपालगञ्ज एक्लैनी स्थित रहेको जामा मस्जिदमा देखिएको विवाद समाधान गर्न तदर्थ समिति गठन गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ मुस्लिम समुदायको मर्कजको रूपमा स्थापित रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिदको व्यवस्थापनलाई व्यवस्थित बनाउन वडा अध्यक्ष आयुब सिद्दिकीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजानलाई मध्यनजर गर्दै मस्जिद सञ्चालक समितिलाई पूर्णता दिने उद्देश्यले तदर्थ समिति बनाइएको वडा अध्यक्ष सिद्दिकीले जानकारी दिनुभयो। मस्जिदको व्यवस्थापन, सञ्चालन तथा भावी कार्ययोजना तय गर्न गठित यस समितिले ईदपछि आवश्यक प्रक्रिया पूरा गरी साधारण सभाबाट स्थायी समिति गठन गर्ने निर्णय गरेको छ। वडा अध्यक्ष सिद्दिकीका अनुसार कानुनी प्रक्रिया पूरा गरी मस्जिदको व्यवस्थापनलाई सुदृढ बनाइनेछ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद केही समययता विवादित बन्दै आएको थियो। मस्जिद व्यवस्थापनमा देखिएको असमझदारीका कारण स्थानीय प्रशासनले वडा कार्यालयलाई व्यवस्थापनको जिम्मेवारी दिएको हो। स्थानीय ऐन नियम अनुसार वडाभित्रका धार्मिक स्थलहरूको रेखदेख र व्यवस्थापन गर्ने जिम्मा वडा कार्यालय लाई नै रहने व्यवस्था छ।
यसै आधारमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ ले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो। वडा अध्यक्ष आयुब सिद्दिकीको संयोजकत्वमा गठन भएको समितिमा अकिल इद्रिशी, ईरशाद अन्सारी, रिजवान सिद्दिकी लगायत ११ जना सदस्य रहेका छन्। वडा कार्यालयका अनुसार तदर्थ समितिले हाललाई मस्जिदको दैनिक कार्य सञ्चालन गर्नेछ भने स्थायी समिति गठनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिनेछ।
तदर्थ समिति गठन भएसँगै स्थानीय मुस्लिम समुदायले मस्जिद व्यवस्थापनसम्बन्धी असमझदारी समाधान हुने आशा राखेका छन्। समितिले मस्जिदको आर्थिक व्यवस्थापन, भौतिक संरचनाको सुधार तथा धार्मिक गतिविधिलाई सहज बनाउन महत्वपूर्ण निर्णयहरू लिनेछ।
जामा मस्जिदका पूर्व महासचिव इरफान सिद्दिकीका अनुसार बिहीबार मस्जिदका पूर्व पदाधिकारी, जामा मस्जिद इदगाह संघर्ष समिति तथा हाल जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वसम्मतिबाट तोकिएका जामा मस्जिदका पदाधिकारीहरूले वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए। वडाध्यक्ष सिद्दिकीले सो ज्ञापनपत्रलाई मनन गरी तदर्थ समिति गठन गरिएको बताउनुभएको छ।
नेपालगञ्जको यो मस्जिद ऐतिहासिक तथा धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ। हरेक वर्ष रमजान महिनामा विशाल संख्यामा मुस्लिम धर्मावलम्बीहरू नमाज पढ्न मस्जिदमा आउने गर्छन्। यस सन्दर्भमा व्यवस्थित व्यवस्थापनका लागि तदर्थ समितिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।