नेपालगन्ज, माघ २१ गते ।
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १७, परसपुरस्थित ज्ञानसागर माध्यमिक विद्यालय (वि.व्य.स) विना सञ्चालनमा रहेको पाइएको छ। विद्यालय व्यवस्थापन समितिको तीन कार्यकाल बितिसक्दा पनि नयाँ समिति गठन नगरिएको विषयलाई लिएर विद्यालय प्रशासन, अभिभावक तथा सरोकारवालाहरू चिन्तित रहेका छन्।
यसैबीच, विद्यालयले आज बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश, बाँके क्षेत्र नम्बर ३ (ख) का प्रदेश सांसद तथा पूर्वमन्त्री बादशाह कुर्मीको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानिय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा लिमरा खबरले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर तथा विद्यालय व्यवस्थापन समितिको अभावका विषयमा पूर्वमन्त्री कुर्मीलाई प्रश्न गरेका थिए। भौतिक पूर्वाधारको सन्दर्भमा उनले भने, “मेरो कार्यकालमा ज्ञानसागर मा.विलाई (निमावि) बाट (मावि) मा स्तरोन्नति गरिएको हो। विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि निरन्तर बजेट विनियोजन गर्दै आएका छौँ। यस वर्ष पनि हामीले आवश्यक बजेट विनियोजन गरिसकेका छौँ।”
विद्यालय व्यवस्थापन समितिको अभावबारे प्रश्न गर्दा पूर्वमन्त्री कुर्मीले विद्यालयमा चाँडै नयाँ समिति गठन गरिने आश्वासन दिए। उनले भने, “विद्यालय व्यवस्थापन समिति गठनको विषयमा म आजै विद्यालयका प्रधानाध्यापक होमराज खड्कासँग छलफल गर्छु। विद्यालयले छिट्टै समिति गठनको प्रक्रिया अघि बढाउनेछ।”
विद्यालयका प्रधानाध्यापक खड्काले यस विषयमा प्रतिक्रिया दिँदै भने, “हामीलाई पूर्वमन्त्री कुर्मीले विद्यालय व्यवस्थापन समिति गठनका लागि निर्देशन दिनुभएको छ। अब छिट्टै अभिभावक भेला बोलाएर समिति गठन गर्ने प्रक्रियालाई तीव्रता दिनेछौँ।”
विद्यालय व्यवस्थापन समितिको अभावले विद्यालयमा विभिन्न समस्या सिर्जना गरिरहेको भन्दै अभिभावकहरू तथा स्थानियवासीहरूले चासो व्यक्त गरेका छन्। विद्यालय व्यवस्थापन समितिको गठनले शैक्षिक गुणस्तर सुधार, तथा भौतिक पूर्वाधार विकासमा टेवा पुग्ने अभिभावकहरूको विश्वास रहेको छ।
विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समिति चाँडै गठन हुने आश्वासन दिएपछि शिक्षक, विद्यार्थी तथा अभिभावकहरू केही हदसम्म ढुक्क देखिएका छन्। अब विद्यालय व्यवस्थापन समिति कहिले गठन हुन्छ र विद्यालयको समग्र व्यवस्थापनमा कस्तो सुधार आउँछ भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ।