नेपालगञ्ज माघ २० गते ।
बाँके जिल्लाको जमुनाहा नाकाको पूर्ब र पस्चिम सीमा क्षेत्रबाट हुँदै ठूलो परिमाणमा कपडा र औषधि तस्करी भइरहेको खुलासा भएको छ। विशेष गरी भन्सार छली गरी भारतबाट नेपालगञ्जमा कपडा भित्र्याउने कार्य निरन्तर भइरहेको स्रोतको दाबी छ। यसका लागि सङ्गठित तस्करहरूले जमुनाहा टङ्कपसरी हुँदै नेपालगञ्ज भित्र्याउने रणनीति अपनाएका छन्।
बिगतमा डुडुवा गाउँपालिकाको कालाबन्जर क्षेत्रबाट कपडा तस्करी गरिँदै आए पनि त्यहाँ सुरक्षाकर्मीहरूको कडा निगरानीपछि तस्करहरूले नयाँ मार्ग अपनाएका छन्। हाल उनीहरूले जमुनाहा नाका, पश्चिम इच्छारामबाबा पचपोखरा पूर्ब नाका, शर्मा गली र निम्बुटा क्षेत्र हुँदै तस्करीलाई निरन्तरता दिइरहेका छन्। विशेष गरी बिहान ३ बजेदेखि ४ बजेसम्म ठूलो परिमाणमा कपडा तस्करी भइरहेको स्रोतले जनाएको छ।
तस्करीका लागि भरिया मार्फ़त पैदल, साइकल, मोटरसाइकल, अटो, र माइक्रोबसको प्रयोग भइरहेको छ। रातको समयमा माइक्रोबसमा विशेष प्रकारको सिलिङ बनाइ भन्सार छल्ने गरिएको खुलासा भएको छ। दिउँसो र बेलुका पनि तस्करी जारी राख्दै कपडा, नेपालगञ्जका तीनवटा ठूला गोदाममा पुर्याउने गरिएको छ।
तस्करीमा संलग्न गिरोहमा महिला, र पुरुष दुवै सक्रिय रहेको खुलेको छ। स्रोतका अनुसार नेपालगञ्जका चर्चित केही ठूला व्यापारीहरूले समेत भन्सार छल्दै कपडाको अवैध व्यापार तस्करी गराई सञ्चालन गरिरहेका छन्। साथै सुपरपावर, रजनीगन्धा, भारतीयगुटका, मोबाइल आटोपार्ट, लगायत सामानको अवैध तस्करी सुरक्षाकर्मीको मिलोमतोमा भइरहेको स्थानीयबासीले आरोप लगाएका छन्। तस्करीका कारण सरकारले दैनिक रूपमा ठूलो मात्रामा राजस्व गुमाइरहेको छ।
कपडासँगै भारतबाट नेपालमा प्रतिबन्धित औषधिहरू समेत तस्करी भइरहेको पाइएको छ। यस्ता औषधिहरू स्वास्थ्यका लागि हानिकारक मानिन्छन् र नेपालमा अवैध रूपमा बिक्री भइरहेका छन्। स्रोतका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरमा सशस्त्र प्रहरी बल नेपाल कोहलपुर अस्पतालका सुरक्षाकर्मीले पाँच कार्टुन प्रतिबन्धित भारतीय औषधि बरामद गरेका छन्।
तर, सो मुद्दामा अनुसन्धान गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वाटर बाँकेका प्रवक्ता (डिएसपी) नरेश खड्काले बरामद गरिएका पाँच कार्टुन भारतीय औषधि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको जनाइएको छ।
बरामद भएको औषधिको विषयले पुष्टि हुन्छ कि बाँकेको जमुनाहा नाकाको विभिन्न क्षेत्रबाट खुलेआम तस्करी भइरहेको प्रमाणित भएको देखिन्छ।
तस्करी नियन्त्रणका लागि सीमा नाकामा खटिएका सशस्त्र प्रहरीहरू सक्रिय भए पनि संगठित गिरोहले नयाँ रणनीति अपनाइरहेकाले नियन्त्रण गर्न कठिन भइरहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। स्थानीयवासीहरूले तस्करी रोक्न सुरक्षाकर्मीहरूले कडाइ गर्नुपर्ने बताएका छन्। यदि तत्काल कडा कदम चालिएन भने नेपालको अर्थतन्त्रमा नकारात्मक असर पर्ने मात्र होइन, स्वास्थ्य सुरक्षामा समेत गम्भीर चुनौती आउन सक्छ।
तस्करीका कारण सरकारले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ। यदि भन्सार प्रक्रियालाई थप कडा बनाइएन र सुरक्षाकर्मीहरूले निगरानी बढाएनन् भने गैरकानुनी व्यापार झन् फैलिने चिन्ता बढेको छ।