बाँके माघ १९ गते।
डुडुवा गाउँपालिकामा पर्ने गन्धैली नालादेखि बेतहनी, रमपुरवा, कम्दी हुँदै रांझा जोड्ने सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको पहलमा आएको २५ करोड रुपैयाँको बजेटबाट सडक पिच निर्माण भइरहेको उक्त सडकले स्थानीय बासिन्दामा उत्साह छाएको छ।
डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी क्षेत्रमा विकास निर्माणका क्रममा विभिन्न चुनौतीहरूको सामना गरिए पनि सडक निर्माण कार्य रोकिएन। निर्माण कम्पनीका अनुसार गाउँपालिकाका जनप्रतिनिधिहरूको अथक प्रयासका कारण निर्माण कार्य द्रुत गतिमा अगाडि बढ्न सफल भएको हो।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी र वडा नम्बर २ का वडा अध्यक्ष दुर्गा प्रसाद वर्माले स्थानीयबासीको सहयोग र उचित व्यवस्थापनका कारण निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन्। स्थानीय बासिन्दा राजारामका अनुसार, यो सडक निर्माणले गाउँका जनतालाई निकै राहत मिलेको छ।
सडक निर्माणका कारण स्थानीयमा ठूलो उत्साह देखिएको छ। स्थानीय छब्बन दर्जीका अनुसार, पहिले बाटो निकै खराव अवस्थामा थियो। उनले भने, “पहिले हिउँदमा धुलो र वर्षामा हिलोले सास्ती खेप्नुपर्थ्यो। अहिले नयाँ सडक बनेपछि सहज रूपमा यात्रा गर्न सकिन्छ।”
त्यसैगरी, स्थानीय आत्मारामले पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई धन्यवाद दिँदै भने, “हाम्रो क्षेत्रको विकासका लागि उहाँले पुर्याएको योगदान कहिल्यै बिर्सन सकिन्न। उहाँकै पहलमा आएको बजेटले आज हामी व्यवस्थित सडक प्रयोग गर्न पाएका छौँ।”
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी र वडा नम्बर २ का वडा अध्यक्ष दुर्गा प्रसाद वर्मा सडक निर्माण कार्यको निरन्तर अनुगमनमा जुटेका छन्। निर्माण सम्पन्न हुन लागेको सडकको निरीक्षणका क्रममा गाउँपालिकाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
स्थानीय बासिन्दाहरूले सडक निर्माण सम्पन्न भएपछि यातायात सुधार हुने, व्यापार व्यवसायमा वृद्धि हुने, स्वास्थ्य तथा शिक्षाको पहुँच सहज हुने विश्वास व्यक्त गरेका छन्। वडा अध्यक्ष वर्माले भने, “हामीले क्षेत्रको विकासका लागि निरन्तर पहल गरिरहेका छौँ। सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ, अब केही समयमै स्थानीयले पूर्ण रूपमा प्रयोग गर्न सक्नेछन्।”
यस परियोजनाको सफलताले बाँके क्षेत्र नम्बर २ का अन्य विकास योजनालाई पनि थप गति दिने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूले पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई आगामी दिनमा पनि यस्ता विकास योजनाहरू निरन्तर अघि बढाउन आग्रह गरेका छन्।