नेपालगञ्ज, माघ १९ गते ।
राष्ट्रिय स्वराज पार्टीको आयोजनामा नेपालगञ्जमा एकदिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सो कार्यक्रम पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेखको प्रमुख आतिथ्य साथै कार्यक्रम डाक्टर राजेन्द्र कुमार गुप्ताको अध्यक्षतामामा नेपालगञ्ज वडा नम्बर १० गणेशमान चौकस्थित साथी कृष्ण काटेजमा सम्पन्न भएको हो।
कार्यक्रमको शुभारम्भ गर्दै स्वागत मन्तव्य पार्टीका केन्द्रीय नेता राजासिंह सरदारले व्यक्त गरेका थिए। उनले राष्ट्रिय स्वराज पार्टीले नेता, कार्यकर्ता तथा संगठनलाई सशक्त बनाउन तथा राजनीतिक ज्ञान प्रदान गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताए।
कार्यक्रममा पार्टी प्रवक्ता रियाज अहमद शेखले राष्ट्रिय स्वराज पार्टीले विभिन्न उत्पीडित समुदाय, ई-रिक्सा व्यवसायी तथा ई-रिक्सा चालकहरूको हकहितमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे। उनले नेपालगञ्ज उपमहानगरपालिकाले ई-रिक्सालाई आधिकारिक रूपमा दर्ता गरी कानुनी रूपमा सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखे। प्रवक्ता शेखले पार्टीले यस विषयमा निरन्तर संघर्ष गरिरहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेखले नेपालगञ्ज उपमहानगरपालिकाको विकास र शिक्षा क्षेत्रमा कमजोरी रहेको आरोप लगाए। उनले नगर प्रशासनलाई तुलना गर्दै भने, “जसरी कुनै सवारी चालकले मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा दुर्घटना हुन्छ, त्यस्तै हाल नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा तथा भौतिक पूर्वाधारको विकासलाई बेवास्ता गर्दा नगरको समग्र विकास प्रभावित भएको छ।”
उनले बाँके जिल्ला, विशेषगरी डुडुवा गाउँपालिका तथा नेपालगञ्ज महानगरपालिकाका जनताले आगामी २०८४ सालको निर्वाचनमा उचित निर्णय लिनुपर्ने आवश्यकता औंल्याए। साथै, नागरिकता सम्बन्धी विषयमा राष्ट्रिय स्वराज पार्टीले निरन्तर आन्दोलन गर्दै आएको र विभिन्न राजनीतिक दलहरूसँग मिलेर पार्टीले सफलता हासिल गरेको समेत उनले जानकारी गराए।
इरफान अहमद शेख ‘बुल्डोजर बापा’ का रूपमा नेपालगञ्ज र डुडुवा क्षेत्रका जनतामाझ लोकप्रिय छन्। उनले पार्टी संगठनलाई जनस्तरमा प्रभावकारी बनाउने विशेष रणनीति अवलम्बन गरिरहेको बताए।
कार्यक्रममा पार्टीका युवा नेता बिके मधेसीले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रत्येक वडाबाट पाँचजना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अन्य विशिष्ट अतिथिहरूमा पार्टीका केन्द्रीय नेता रियाज अहमद शेख, राजा सिंह, रोशन चौधरी, दलित नेता तथा केन्द्रीय सचिवालय सदस्य विष्णु खटिक, केन्द्रीय नेता जाबिर हल्वाई, जिल्ला उपसभापति रामनिवास साहू, युवा नेता राजू वर्मा, केन्द्रीय महिला नेतृ जोया शेख, हेमा खटिक, नाजमा बागवान, किताबुन निशा दर्जि, नेपालगञ्ज उपमहानगरपालिका सभापति सन्तोष गोडिया, उपसभापति शेर अली जसगड, सचिव मेराज अहमद मनिहार, कोषाध्यक्ष अम्बिका शाही, युवा नेता निजाम शेख, फिरोज अन्सारी, प्रचारप्रसार विभाग प्रमुख जलालुद्दीन हल्वाई, डुडुवा गाउँपालिका सभापति जवाहिर सिंह, उपसभापति हनिफ शेख, सालिया हासमी, नेपालगञ्ज वडा नम्बर ९ की महिला नेतृ सुशीला गोडिया, सुखराम राढ, मीना राढ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी स्थानीय प्रतिनिधिहरूले प्रशिक्षण कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले पार्टीले उठाएका मुद्दाहरू स्थानीय जनजीवनसँग प्रत्यक्ष सम्बन्धित रहेको भन्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रिय स्वराज पार्टीले आगामी दिनमा संगठनलाई अझ सुदृढ बनाउँदै स्थानीय तथा राष्ट्रिय मुद्दाहरूमा अझ सक्रिय रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टी नेताहरूले नेपालगञ्ज तथा बाँके जिल्लाका जनताले दिएको समर्थनबाट पार्टीलाई थप ऊर्जा मिलेको बताए।
कार्यक्रम आयोजकहरूले सफल प्रशिक्षण कार्यक्रमको समापन गर्दै आगामी दिनमा यस्ता थप कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेका छन्।