बाँके माघ १४ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा डेढ करोड रुपैयाँ लागतमा नयाँ पक्की सडक निर्माण कार्य सुरु गरिएको छ। शनिबार वडाध्यक्ष दिपक कुमार बर्माले उक्त सडकको शिलान्यास गरेका छन्। सुर्खेतरोड भाटभटेनीदेखि पश्चिमतर्फ उपेन्द्र श्रेष्ठको घर हुँदै भुजईं गाउँ जाने ५५० मिटर लामो यो सडक निर्माणका लागि ८७ लाख ९७ हजार रुपैयाँमा टेण्डर सम्झौता भएको थियो। राप्ती गणेश कन्स्ट्रक्सनले उक्त सडक निर्माणको जिम्मा लिएको छ। निर्माण कम्पनीले आगामी २०८२ साल जेठ १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरेको छ।
यो सडक ८ मिटर चौडाइको हुने र दायाँबायाँ एक–एक मिटरको नालासमेत निर्माण गरिने वडाध्यक्ष बर्मले जानकारी दिए। कुल १ करोड ४३ लाख रुपैयाँको बजेट विनियोजन भएको भए पनि टेण्डर सम्झौतामा लागत घटेर बचेको रकम थप सडक विस्तारका लागि प्रयोग गरिने योजना रहेको वडाध्यक्षले बताए।
वडाध्यक्ष बर्माका अनुसार यो आर्थिक वर्षमा वडा नं. १८ को सबैभन्दा ठूलो बजेटको सडक परियोजना हो। “पूर्व योजना अनुसारका भौतिक पूर्वाधार निर्माणका कामहरू पनि क्रमशः अघि बढाइरहेका छौं,” उनले भने। साथै, निर्माण कम्पनीलाई समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिँदै, उनले जनताको आकांक्षा पूरा गर्ने प्रतिबद्धता दोहोर्याए।
सडक निर्माणसँगै वडाका स्थानीयवासीलाई आवतजावतमा सहजता हुने र विकासका नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ। वडाध्यक्षले यो परियोजनाले वडा नं. १८ को विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे। राप्ती गणेश कन्स्ट्रक्सनका प्रतिनिधिले गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाउँदै समयसीमाभित्रै निर्माण कार्य सम्पन्न गर्ने बताए। यसले वडाभरका जनताको आवागमनलाई सहज बनाउनुका साथै आसपासका क्षेत्रमा आर्थिक गतिविधि बढाउने विश्वास गरिएको छ।
वडा कार्यालयले अन्य भौतिक पूर्वाधार निर्माणका योजनाहरूलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिएको छ। वडाध्यक्ष बर्माले भने, “हामीले जनताको आवश्यकता र अपेक्षा अनुसारका योजनाहरू कार्यान्वयन गर्दैछौं। गुणस्तरीय विकासका लागि काममा कुनै सम्झौता हुनेछैन।”